चीनको प्रतिष्ठित बेइजिङ फिल्म फेस्टिभलमा नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' छनोट भएको छ।
शुक्रबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा जानकारी दिएका हुन्। पहिलोपटक कुनै नेपाली फिल्म बेइजिङ फिल्म फेस्टिभलमा छनोट भएको जनाइएको छ।
बेइजिङ फिल्म फेस्टिभलमा छनोट भएपछि निर्माता अमोद राईले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन्।
'हाम्रो फिल्म चीनको प्रतिष्ठित ‘१४ औं बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा छानिएको खबर सुनाउन पाउँदा उत्साहित छौं। दुइ दशकको हङकङ बसाइको क्रममा हाम्रो नेपाली फिल्म कथालाई चिना समुदायलाई देखाउने ठूलो सपना थियो, आज यो सपना पुरा भएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको प्रथम नेपाली फिल्म हो,' उनले लेखेका छन्।
यो फिल्म टोरोन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो भने बुसान इन्टरनेशल फिल्म फेस्टिभल, एशियन प्रिमियर, मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ।
फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला (दया), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई) को गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ।
फिल्मको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्।
यो फिल्म जेठ १८ गतेदेखि प्रदर्शन हुनेछ।