अभिनेत्री केकी अधिकारीले आफ्नो निर्माण तथा अभिनय रहेको फिल्म 'बोक्सीको घर' का लागि गायक प्रकाश सपूतसँग मिलेर गीत तयार पारेकी छन्।
'बुझिनँ मैले' बोलको गीतमा प्रकाशको शब्द तथा संगीत छ भने सुदीप सागरले एरेन्ज गरेका छन्। गीतमा प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर छ।
केकीले भिडिओको छायांकन समेत सकेकी छन्। भिडिओमा उनी फिल्मको पात्र लुक्समै प्रस्तुत छिन्।
सुनील क्षेत्रीले भिडिओको कोरियोग्राफी गरेका हुन्। केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको गीतबारे केकीले भनिन्, 'फिल्मको टिजर, गीत र बोक्सी लुक्सले दर्शकमा कौतुहलता जगाएको छ। यो गीत अझ सशक्त किसिमको छ।'
प्रकाश र केकीले फिल्म 'परदेशी २' र 'बदला बरिलै' सहितका केही म्युजिक भिडिओमा सहकार्य गरिसकेका छन्। यो गीत पनि दर्शकका लागि नयाँ स्वादको हुने दाबी गायक प्रकाशको छ।
'बोक्सीको घर' आगामी वैशाख १४ गतेदेखि रिलिज हुँदैछ। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटकमाथि आधारित रहेर निर्माण गरिएको छ।
अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित 'बोक्सी' कु-प्रथालाई चित्रण गर्ने बताइन्।
फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ। फिल्ममा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्।
केकीसहित सुलक्षण भारती, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतले फिल्ममा अभिनय गरेका छन्।