टेलिभिजन सिरियलका चर्चित कलाकार हुन् विष्णु सापकोटा।
झण्डै १२ वर्ष उनी मुख्य भूमिकामा रहेर 'हर्के हल्दार' मार्फत निरन्तर दर्शकमाझ आइरहे।
दर्शकले पनि उनलाई वास्तविक नामभन्दा 'हर्के हल्दार' भनेरै चिने। सिरियलमा निर्देशकको भूमिका समेत निर्वाह गरेका विष्णु पछिल्लो समय यो सिरियलमा छैनन्। डेढ वर्षअघि उनले सिरियल छाडेका हुन्।
आपसी समझदारीमै सिरियल छाडेको उनी बताउँछन्। 'छुट्टिनुको कारण विविध छन्' विष्णुले भने, 'तर धेरै कुराहरू नगरी भन्नुपर्दा त्यो टिमसँग छुट्टाछुट्टै काम गर्ने भन्ने समझदारी भएको बुझौं।'
'हर्के हल्दार' बाट छुट्टिएपछि उनी सिरियल 'रिटार हल्दार' मा देखिन थाले। यसमा स्क्रिप्ट लेखकको भूमिका समेत निर्वाह गर्दै एक वर्षसम्म उनले यो सिरियलमा काम गरे।
त्यसपछि आफैले अर्को सिरियल 'बा आमा' बनाए।
यो सिरियल उनले धेरै अगाडि बढाउन भने सकेनन्। 'स्क्रिप्टलाई अलि न्याय गर्न सकिएन कि भन्ने लाग्छ। सोचेजस्तो भ्युज पनि आएन। १३ एपिसोड ल्याएपछि छाडेँ' उनले भने।
केही समय उनी बेगम नेपालीको सिरियल 'गाह्रो छ हो' मा समेत देखिए।
यतिबेला भने विष्णु नयाँ सिरियलको तयारीमा छन्। केही एपिसोडको छायांकन समेत सकिसकेका छन्।
'अब पारिवारिक कथामा कमेडी मिसाएर सिरियल ल्याउँदैछु। घर, गाउँ समाजकै कथामा रहेर तयार पारेको छु' विष्णुले भने, '१० एपिसोड छायांकन भइसकेको छ। मेरो क्यारेक्टर हर्के नै छ। टाइटल तय भइसकेको छैन। वैशाखदेखि प्रसारणमा ल्याउने तयारी छ।'
सिरियलमा आफूसहित लक्ष्मीनाथ तिमल्सिना, अञ्जु हमाल, स्वीकृति खरेल, पिताम्बर आचार्य, पुष्पा आचार्यलगायत कलाकारलाई दर्शकले देख्न पाउने उनले बताए।