निर्माणको तयारीमा रहेको फिल्म 'ज्वाइँ साब' को मुख्य भूमिकामा हास्य अभिनेता जितु नेपाल अनुबन्धित भएका छन्।
रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मसको सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन्। उनका अनुसार गाउँले परिवेशमा रहेर कमेडी जनरामा फिल्म बन्नेछ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई मुख्य भूमिकामा लिइएको निर्माता राजकुमार पण्डितले बताए। हास्य कलाकारको रूपमा चर्चित जितु यसअघि 'ह्यारीकी प्यारी' मा मुख्य भूमिकामा देखिएका थिए।
'ज्वाइँ साब' लाई लिएर आफू निकै उत्साहित रहेको जितुको भनाइ छ।
सविन अधिकारीको कथा, शंकर धितालको पटकथा एवं संवाद रहने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ। कार्यकारी निर्माता विजय बस्याल हुन्।
निर्माणपक्षले फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ। फिल्मलाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने तय गरिएको निर्देशक निरौलाले बताए।
वैशाख १५ गतेदेखि फिल्मको छायांकन सुरू गर्ने तयारी छ।