पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदर्शनरत फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक लागेको बताएका छन्। मंगलबार बेलुका ठमेलस्थित छायाँ सेन्टरमा रहेको क्युएफएक्समा फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले फिल्म मन परेको बताए।
आफूलाई मनपर्ने शैलीको फिल्म बनाएको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता रबिन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीसहितको टिमलाई धन्यवाद समेत दिए। ‘फिल्म मनोरञ्जकसँगै सन्देशमूलक छ। देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ। नेताहरूले फिल्म हेरेर मम भन्न सक्नुपर्छ’, भट्टराईले भने। फिल्म हेरिरहँदा आफू केही स्थानमा भावुक बनेको समेत उनले बताए।
यस प्रकारका फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतिकरण, विषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए। उनले भने ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ।’
पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममार्फत दिन खोजेको सन्देशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए। ‘हामीले सक्किने कि सच्चिने? भन्ने प्रश्न फिल्ममा उठाएका छौँ। यसपटक मनोरञ्जनसँगै फिल्मकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ। देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ’, निर्देशक भट्टराईले भने।
कार्यकारी निर्मातासँगै अभिनेता रहेका रबिन्द्रसिंह बानियाँले फिल्म हलमा सम्पूर्ण उमेर समूहका दर्शक पाउँदा खुशी लागेको प्रतिक्रिया दिए। ‘हामी हल भ्रमणमा पुग्दा नयाँ दर्शक भेटिरहेका छौँ। अधिकांश हलमा परिवार नै फिल्म हेर्न आएको पाएका छौँ। बच्चा, वृद्धसँगै ह्वीलचेयरमा समेत फिल्म हेर्न आउनुभएको पाउँदा खुसी छौँ। फिल्म हेरेर हलबाट निस्किँदै गर्दा दर्शकले हामीलाई दिनुभएको धन्यवाद हाम्रो सबैभन्दा ठूलो सफलता हो’, अभिनेता बानियाँले भने।
निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले नेपालसँगै विदेशमा समेत उत्तिकै उत्साहजनक व्यापार गरिरहेको बताए।
‘महाजात्रा’ मा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ। फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।
फिल्म चैत ९ गतेदेखि प्रदर्शनमा आएको हो।