अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म 'डिग्री माइला' को लिरिकल गीत 'किन' सार्वजनिक भएको छ।
सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो। यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।
बाँसुरी फिल्मसले कबड्डी फिल्मस तथा सुस्मा फिल्मससँग मिलेर फिल्मको निर्माण गरेको हो। फिल्ममा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ।
विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता क्रिश लामा हुन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहेको छ भने रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ। फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन्।
यो फिल्म चैत ३० गतेदेखि प्रदर्शन हुँदैछ।