नेपाली नयाँ वर्षलाई स्वागत गर्न अब केही दिनमात्रै बाँकी छ। नेपालीहरूले आ-आफ्नै तरिकाले नयाँ वर्षलाई स्वागत गर्ने गरेका छन्।
नयाँ वर्षको अवसरमा देश-विदेशमा सांगीतिक कार्यक्रम एवं विभिन्न उत्सवसमेत आयोजना हुने गरेका छन्। जहाँ विशेषगरी गायक-गायिकाहरूको प्रस्तुति रहने गरेको छ।
यसवर्ष पनि नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा गायक-गायिकाहरू व्यस्त बन्दैछन्। उनीहरूले तय भएको आफ्नो नयाँ वर्ष विशेष कार्यक्रमको जानकारी सामाजिक सञ्जालमार्फत दिइरहेका छन्।
गायक प्रमोद खरेल नयाँ वर्ष विशेष कार्यक्रमका लागि साउदी अरब जाँदैछन्। त्यहाँको रियादमा चैत ३० (अप्रिल १२) मा उनको कार्यक्रम तय छ। झापाली समाज साउदी अरेबियाको महाअधिवेशनसँगै आफ्नो प्रस्तुति हुन लागेको प्रमोदले बताएका छन्।
गायिका मेलिना राईले नयाँ वर्षको अवसरमा झापामा प्रस्तुति दिँदैछिन्। वैशाख १ गते झापाको अर्जुनधारा -१० मा उनको प्रस्तुति तय छ। कार्यक्रममा उपस्थित हुन मेलिनाले सामाजिक सञ्जालमार्फत जिल्लाबासीलाई निम्तो समेत गरिसकेकी छन्।
गायक राजेशपायल राई, गायिका ज्योति मगर, हास्य अभिनेता जितु नेपालसहित मोडलद्धय कविता आले र प्रगति राईको नयाँ वर्ष विशेष कार्यक्रम मकाउमा तय छ। १३ अप्रिलको दिन आयोजित कार्यक्रम एनआरएनए मकाउको प्रस्तुतिमा हुन लागेको हो।
र्यापर भिटेन नयाँ वर्षमा अस्ट्रेलियाका नेपालीमाझ प्रस्तुत हुँदैछन्। ‘दामी नाइट विथ भिटेन एण्ड यांकी योल्मो’ नाम दिएर १२ र १३ अप्रिलमा एडिलेडमा कार्यक्रम हुन लागेको हो।
गायक महेश काफ्ले, अर्जुन सापकोटा र गायिका अस्मिता अधिकारीले नयाँ वर्षको अवसरमा बुटवलमा एकै ठाउँ प्रस्तुति दिँदैछन्।
पौवा होटलले चैत ३० गते बेलुका आयोजना गरेको लाइभ म्युजिकमा उनीहरूको प्रस्तुति तय छ। अन्य कलाकारहरू पनि नयाँ वर्षको अवसरमा सांगीतिक कन्सर्टमा व्यस्त हुँदैछन्। जसको जानकारी उनीहरूले सामाजिक सञ्जालमार्फत दिइरहेका छन्।