अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको फिल्म 'पुजार सार्की' आगामी जेठ १० गते नेपालसहित विश्वव्यापी रिलिज हुने भएको छ। शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरिएको हो।
बुद्ध जयन्तीको दिन बिहीबार नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा फिल्म एकसाथ रिलिज गरिने निर्देशन दिनेश राउतले बताए। उनका अनुसार निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाहअनुसार फिल्म प्रदर्शनका लागि उक्त मिति तय गरिएको हो। 'हामीले नेपालसहित विश्वव्यापी रूपमा एकसाथ फिल्म रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा फिल्म रिलिज हुनेछ', राउतले भने।
'पुजार सार्की' जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा निर्माण भएको निर्देशक राउतले बताए।
सार्वजनिक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेताहरू आर्यन सिग्देल र पल शाह आ-आफ्नो चरित्रमा छन्। अर्को पोस्टरमा चौतारोमा बसेर पलले गफ लगाइरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन्।
फिल्ममा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्। त्यस्तै मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शकंर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस फिल्ममा अभिनय छ।
फिल्मलाई विकास सुवेदीले लेखेका हुन् भने संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्। राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’ लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्।
किङडम नेटवर्कको ब्यानरमा बनेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।