भारतको सिएमएस इन्टरनेशनल चिल्ड्रेनस फिल्म फेस्टिभल (आइसीएफसी) को नोमिनेशनमा नेपाली सर्टफिल्म 'पाउलो' परेको छ।
यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुँदैछ। जुत्ताको कथावस्तु रहेको फिल्ममा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापालगायत कलाकारको अभिनय छ।
काठमाडौंमा छायांकन गरिएको फिल्ममा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन्। सहायक निर्देशन करण साउदको रहेको छ। नारायण जिसीले छायांकन गरेको फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन्।
'पाउलो' को अफिसियल पार्टनरको रूपमा मालिका मिडिया, साइलेन्ट एक्ट रहेको छ। यो फिल्म पशुपति परिसरमा बस्ने परिवार विहिन एक सडक बालकको कथा हो। जसमा सुरूदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई बनाइएको छ।
ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्। जुत्ताको कथा रहेको 'पाउलो' लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ।