निर्माण तयारीमा रहेको फिल्म 'बलिदान' का लागि सेट डिजाइनको काम सुरू गरिएको छ।
कथा सुहाउँदो लोकेसन खोज्नुपर्ने चुनौतीबीच फिल्मको ५० प्रतिशत हाराहारी छायांकन सेट तयार पारेर गरिने भएको निर्माण टिमले जनाएको छ।
पूर्वी नेपालको इटहरीमा रहेको 'बिएमसी छायांकन स्टुडियो' मा सेट लगाएर फिल्मको इनडोर सुटिङ गरिने भएको निर्देशक सन्तोष सेनले बताए। 'इनडोर छायांकनका लागि राम्रो स्टुडियो बनेको रहेछ। ४० प्रतिशत भाग यही स्टुडियोमा भव्य सेट लगाएर खिच्ने भएका छौं' सेनले भने। भर्खरै निर्माण भएको स्टुडियो 'बलिदान' को छायांकनसँगै शुभारम्भ गरिने जनाइएको छ।
आउटडोर छायांकनका लागि पनि सेट तयार गरिनेछ। फिल्मको १० प्रतिशत छायांकन आउटडोर सेटमा हुनेछ। बाँकी ५० प्रतिशत छायांकन विराटनगर र इटहरीसहित त्यस आसपासका क्षेत्रमा हुनेछ।
नेपालको तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग फिल्मको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले आफूहरूले व्यापक तयारी गरिरहेको सेनले बताए। उनका अनुसार वैशाखको अन्तिम सातादेखि छायांकन सुरू गर्ने तयारी छ।
'बलिदान' बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन्। नेपाली फिल्मका एक्सन अभिनेताका रूपमा परिचित विराज भट्टका छोरा समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए। त्यस्तै अभिनेता सौगात मल्ल, अर्पण थापा र अभिनेत्री ऋचा शर्मा फिल्ममा अनुबन्धित भइसकेका छन्।
दर्शन जीको कथा लेखन रहेको फिल्मको निर्माताको रूपमा पवन विष्ट तथा सह-निर्मातामा प्रेम पुरी छन्। वर्ष २०८१ को दसैंमा फिल्म प्रदर्शनमा ल्याइने घोषणा भइसकेको छ।