गत शुक्रबार काठमाडौं आएकी भारतीय अभिनेत्री दीपिका चिखलिया स्वदेश फर्किएकी छन्।
एक सामाजिक संस्थाको आमन्त्रणामा नेपाल आएकी उनी आइतबार दिउँसो भारत फर्किएकी हुन्। जनजाति कल्याण आश्रम नेपालले उनलाई काठमाडौं ल्याएको थियो। उक्त संस्थाद्वारा संचालित आमाको माया छात्रावासको शनिबार सम्पन्न १४ औं वार्षिकोत्सव समारोहमा दीपिका सहभागी बनिन्।
आश्रमले विपन्न, सामाजिक सुविधाबाट वञ्चित बालबालिकालाई शिक्षा र स्वास्थ्य प्रदान गर्दै आएको छ।
नेपाल आर्मी अफिसर्स क्लबमा आयोजित समारोहमा विशिष्ठ अतिथिका रूपमा उपस्थित दीपिकाले ३० वर्षपछि फेरि नेपाल आउन पाउँदा खुशी लागेको बताइन्।
रामायणको हरेक भागबाट केही न केही कुरा सिक्ने धारणा उनले राखिन्। असल मार्गमा लाग्न रामायणले प्रेरणा दिने उनले बताइन्। विपन्न वर्गका बालबालिकालाई खुलेर सहयोग गर्न समेत आव्हान गरिन्।
आइतबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेकी उनी दिउँसो २ बजेको फ्लाइटमा स्वदेश फर्किएको जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ राईले जानकारी दिए।
५८ वर्षीया दीपिका भारतीय टेलिशृंखला 'रामायण' मा 'सीता' को भूमिका निर्वाह गरेर चर्चामा आएकी थिइन्। हिन्दी, मलयालम, बंगाली, तमिल फिल्ममा समेत अभिनय गरेकी उनी भारतीय लोकसभाकी पूर्वसांसदसमेत हुन्।