निर्माणको तयारीमा रहेको फिल्म 'ज्वाइँ साब' मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन्।
निर्माणपक्षले उनीसँग सोमबार कागजी सम्झौता गरेको हो। फिल्ममा उनले हास्य अभिनेता जितु नेपालसँग सहकार्य गर्नेछिन्।
कथा पढेपछि यस फिल्ममा काम गर्न आफू उत्साहित भएको नीतिको भनाइ छ। जितु भने मुख्य भूमिकाका लागि यसअघि नै अनुबन्धित भइसकेका हुन्।
फिल्ममा कथाको माग अनुसार कलाकारहरू लिइएको निर्देशक बसन्त निरौलाले बताए। उनका अनुसार फिल्मले सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्नेछ।
रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मसको सहकार्यमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्। मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माता, विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ।
वैशाखको १५ गतेदेखि छायांकन सुरू गर्ने तयारी रहेको फिल्म तिहारमा प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ।