मोडल कुसुम शर्मा फिल्म 'वर एन्ड बधू' मा जोडिएकी छन्। गायक प्रकाश सपूतको गीत 'सकम्बरी' बाट चर्चामा आएकी उनी अहिलेकी व्यस्त मोडल हुन्।
फिल्ममा उनलाई विशेष भूमिकाका लागि लिइएको निर्देशक मिलन चाम्सले बताए। 'केही कलाकारहरू जोडिनुभएको छ। जसमध्ये कुसुमलाई विशेष भूमिकामा लिएका हाैं,' मिलनले भने।
कुसुम यसअघि फिल्म 'सञ्जीवनी' मा अभिनेत्रीको रूपमा अनुबन्धित भए पनि यो फिल्मको छायांकन सुरू हुन सकेको छैन।
‘वर एन्ड बधू’ मा भने कुसुम दोस्रो चरणको छायांकनमा जोडिन लागेकी हुन्। फिल्मको पहिलो चरणको छायांकन रोमानियामा भइसकेको छ। वैशाख ३ गतेदेखि दोस्रो चरणको छायांकन काठमाडौंमा सुरू हुने निर्देशक चाम्सले बताए।
फिल्ममा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य मुख्य भूमिकामा छन्। साम्राज्ञी राज्यलक्ष्मी शाह, श्रृष्टि खड्का, हिमेश पन्त, किरण केसी, विजय लामा, रविन्द्र खड्का, यमन श्रेष्ठ, दिनेश काफ्लेलगायतका कलाकारहरू समेत फिल्ममा देखिँदैछन।
प्रदीप भारद्धाजको कथा रहेको फिल्म रोमान्टिक कमेडी जनरामा बन्नेछ। नेपाली र हिन्दी भाषामा निर्माण गरिने भनिएको फिल्मको निर्मातामा जानुका थापा र कार्यकारी निर्मातामा डा. अमित रिजाल छन्। फिल्मको छायांकार सुदिप बराल हुन्।