फिल्म 'द रेड सुटकेस' को विशेष शो आयोजना गरिएको छ।
मंगलबार साँझ काठमाडौंमा फिल्मको विशेष शो आयोजना गरिएको हो। शोमा सहभागी फिल्मकर्मी तथा राजनीतिज्ञहरूले आम फिल्मभन्दा द रेड सुटकेस निकै फरक लागेको प्रतिक्रिया दिए।
कार्यक्रममा बोल्दै निर्देशक एवं अभिनेता नीर शाहले आफूले स्थापना गरेको कलेज अफ फिल्म स्टडिजबाट फिल्ममा ग्राजुएसन गरेका फिडेल देवकोटा पहिलादेखि नै फरक प्रतिभाका व्यक्तित्व भएको बताए।
'आज यतिसुन्दर नेपाली फिल्म बनाएर अन्तर्राष्ट्रिय बजारमा फिडेलजीले द रेड सुटकेस मार्फत नेपाललाई चिनाउँदा मलाई गौरव लागेको छ। यस्ता फिल्म नेपालमा अत्यन्त कम बन्ने भएकाले द रेड सुटकेस जस्ता फिल्मलाई हामी सबैको साथ हुनुपर्छ,' उनले भने।
कार्यक्रममा सांसद रघुजी पन्तले पनि आफूले अहिलेसम्म हेरेको नेपाली फिल्मभन्दा द रेड सुटकेस पृथक फिल्म भएको बताए। 'यस्ता फिल्म बन्नु आफैंमा मुख्यकुरा भए पनि हामीले हेरेर अर्को फिल्म निर्माणको वातावरण बनाइदिनु पर्छ,' उनले भने।
अभिनेत्री मिरूना मगरले द रेड सुटकेस क्लासिक फिल्म बनेको बताइन्। 'मलाई यसमा रहनु भएका कलाकारहरूको काम देखेर साह्रो लोभ लाग्यो। टिमकै यसमा उच्च कोटीको काम रहेको छ,' उनले भनिन्।
यो फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको अभिनय छ। यो फिल्मको सम्पादन श्रीलंकामा समन अलभितिगाले गरेका हुन्। फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन्।
यो फिल्मको गतवर्षको सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो। यसले सो फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो। फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको संस्था बिसाटो डिओरोले डेब्यू फिल्म निर्देशकको रूपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फर्स्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो।
त्यसयता फिल्म संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल लगायत फेस्टिभलमा प्रदर्शन गरिएको थियो। फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यू फिचर फिल्मको अवार्ड जितेको थियो।
यो फिल्म चैत ३० गतेदेखि प्रदर्शन हुँदैछ।