निर्माण तयारीमा रहेको फिल्म 'ज्वाइँ साब' मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन्। सामाजिक कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा यसअघि हास्य अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाह फाइनल भइसकेका छन्।
रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्नेछन्। उनका अनुसार फिल्मले सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्नेछ।
राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ।
वैशाखको १५ गतेदेखि छायांकन सुरू गर्ने तयारीमा रहेको फिल्म आउँदो तिहारमा प्रदर्शनमा ल्याइने जनाइएको छ।
हिमेश पछिल्लो समय फिल्ममा पनि व्यस्त हुन थालेका छन्। उनी फिल्म 'वर एन्ड बधू' र 'शमशेर' मा पनि देखिँदैछन्।