प्रदिप भट्टराई निर्देशित फिल्म 'महाजात्रा' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। आज शुक्रबारदेखि फिल्म चौथो सातामा प्रवेश गरेको छ।
यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँका अनुसार फिल्मले तेस्रो सातासम्म विश्वभरबाट २३ करोड १ लाख कमाएको छ।
फिल्मले १४ करोड १ लाख नेपालबाट कमाएको हो भने ९ करोड अन्य देशबाट कमाएको हो।
चौथो सातामा आइपुग्दा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ। नयाँ वर्षको अवसर पारेर 'डिग्री माइला' र 'द रेड सुटकेस' प्रदर्शनमा आएका छन्। यी फिल्मसँगै 'महाजात्रा' पनि हलमा लागिरहेको छ।
नयाँ वर्षमा दर्शकहरूले आफ्नो रूचि अनुसारका फिल्म हेर्न पाउँदा कार्यकारी निर्माता बानियाँले खुशी व्यक्त गरे।
फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्यदेव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरूङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले फिल्मलाई निर्माण गरेका हुन्।