सहारा शर्मा लिखित तथा निर्देशित फिल्म 'एक मुठ्ठी बादल' को छायांकन सकिएको छ।
पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्मको छायांकन २२ दिनमा सकिएको हो। डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा फिल्मकर्मीहरूमा लैंगिक असमाता रहेको बताएको थियो। यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फैलाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो। यसले फिल्म निर्माणमा विध्मान लैंगिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास लिएको छ।
यस फिल्मलाई लिन ड्यानले छायांकन गरेकी हुन्। भियतनामकी ड्यानको यो तेस्रो फिचर फिल्म हो भने एक मुठ्ठी बादल पहिलो नेपाली फिचर फिल्म हुनेछ।
प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन्। फिल्ममा कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन्।
निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका फिल्मलाई अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुत्त रूपमा निर्माण गरेका हुन्। गौथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ। फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाईं, मनिष निरौला, गौरव विष्ट, सहयोगराज अधिकारी, अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय छ।
यो फिल्म अर्काे वर्ष प्रदर्शन हुने बताइएको छ।