शुक्रबारदेखि प्रदर्शनमा आएको दयाहाङ राई र आँचल शर्मा अभिनीत फिल्म 'डिग्री माइला' ले उत्साहजनक व्यापार गरेको छ।
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले काठमाडौंमा मात्र नभइ देशैभर राम्रो व्यापार गरिरहेको निर्माता मणिराम पोखरेलले बताए।
उनका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार ९८ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो। शनिबार फिल्मको कलेक्सन २ करोड ८ लाख थियो।
दुई दिनमा ३ करोड ६ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको फिल्मले आइतबार पनि राम्रो व्यापार गरेको पोखरेलले बताए। 'हिजोको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि थियो। जसअनुसार कलेक्सन ७० देखि ७५ लाख आसपास रहेको अनुमान छ', उनले भने।
फिल्मको व्यापार अपेक्षाअनुसारकै रहेको पोखरेलले बताए।
उनले भने, 'जारी र कबड्डीले जति ओपनिङ गर्छ भन्ने अपेक्षा हाम्रो थिएन। किनकि यसको टाइटल नयाँ थियो भने जनरा पनि फरक हो। जति व्यापार गरिरहेको छ त्यो अपेक्षाअनुसारकै छ।'
रामबाबु गुरुङ निर्देशित फिल्म 'डिग्री माइला' मा दयाहाङ र आँचलसहित माओत्से गुरूङ, प्रकाश घिमिरे, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल लगायत कलाकारको पनि अभिनय छ।
फिल्मको निर्मातामा मणिराम पोखरेलसहित विशाल गुरुङ, मधु मिजार र सुष्मा गुरुङ छन्।