बाल मनोविज्ञानको विषयमा आधारित फिल्म 'सारंग' को शुभ मुहूर्तसँगै छायांकन सुरू भएको छ।
प्रशान्त तामाङको निर्देशनमा बन्ने फिल्मको कान्जिरोवा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै छायांकन सुरू गरिएको हो। फिल्मको छायांकन सेड्युल एक महिना रहेको बताइएको छ।
कोरियोग्राफरको रूपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्म बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको विषयमा प्रस्तुत गरिदैछ। यसअघि पनि बालमनोविज्ञानको विषयमा 'ठूलो मान्छे' निर्देशन गरेका प्रशान्त फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउँछन्।
दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी, सम्राट थापा, आदित्य कार्कीलगायत कलाकारको अभिनय छ।
यो फिल्म बालदिवसको अवसर पारेर रिलिज गरिनेछ।