अस्कर कलेजले नेपालका १० सहरमा दुई हप्ता सिनेमा साक्षरता अभियान सकेको छ।
नयाँ पुस्तालाई फिल्मसम्बन्धी आधारभूत जानकारी दिने र उनीहरूमा सिनेमाप्रति रूचि जगाउने उद्देश्यले सञ्चालित अभियान सफलतापूर्वक सम्पन्न भएको अभियानका इभेन्ट म्यानेजर नविन न्यौपानेले बताए।
न्यौपानेका अनुसार मुख्य फिल्म कसरी बन्छ र फिल्म पनि पढ्ने विषय हो भनेर बुझाउनु यस अभियानको मुख्य उद्देश्य थियो।
'यो अभियानले युवा पुस्तामा फिल्मबारे अभिरूचि जगाउन र उनीहरूको बुझाइ फेर्न थोरै भए पनि योगदान गरेको हामीले महसुस गर्यौं,' उनले भने।
हरेक सहरमा एक दिनको तालिका बनाएर सञ्चालित कार्यक्रममा नेपाली सिनेमा र विश्वसिनेमाको इतिहासका सैद्धान्तिक पक्षदेखि पटकथा लेखन, छायांकन, अभिनय, चरित्र निर्माणलगायत प्राविधिक विषयसम्बन्धित गतिविधि र जानकारी समेटिको थियो।
इभेन्ट म्यानेजर नविन न्यौपानेले अभिनयको इतिहास र सिनेमामा चरित्र निर्माण कसरी हुन्छ भन्नेबारे जानकारी दिएका थिए। परासर वाग्लेले फिल्म बनाउनु पूर्वचरणका प्रक्रियादेखि निर्माण भइसकेपछिका चरणमा आउने प्राविधिक पक्षहरूको उदाहरणसहित समग्रमा फिल्म कसरी बन्छ भनेर बताएका थिए। त्यस्तै सुरज कटुवालले विश्व सिनेमाको इतिहास र नेपाली सिनेमाको इतिहासबारे जानकारी तथा पटकथा लेखनको जिम्मा सम्हालेका थिए। सेलिना घिमिरे र युबिना भट्टराईले साक्षरता अभियानका विविध प्राविधिक तथा व्यवस्थापकीय कार्यमा सहयोगीको भूमिका निर्वाह गरेका थिए।
साक्षरता अभियानमा अस्कर कलेजका प्राध्यापक रामराजा दाहाल पनि सहभागी थिए। दशवटै सहरका गतिविधि अवलोकन गरेका उनका अनुसार बुटवल, बिर्तामोड, ईटहरी र पोखरामा एक सय पचासभन्दा बढी सहभागी उपस्थित भएका थिए।