बिहीबारदेखि रामेछापमा हुन लागेको 'तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव' मा विभिन्न विधाका डेढ दर्जन बढी फिल्म छनोट भएका छन्।
सोमबार नेपाल पर्यटन बोर्डमा प्रि–इभेन्ट आयोजना गरेर छनोट भएका फिल्मका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने बताए। चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विस्तार गर्न सरकारका तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको उनको भनाई थियो।
महोत्सवमा ग्रामीण परिवेशमा बनेका मौलिक कथावस्तुका फिल्महरू समेटिएको आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए।
'आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र' भन्ने नाराका साथ ३ वर्षअघि महोत्सवको सुरूआत भएको थियो।
महोत्सवमा फिल्म हल नभएका स्थानका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा फिल्म स्क्रिनिङ्ग गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिँदै आएको छ। फिल्मसंग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी समेत आयोजना हुने गरेको छ।
पहिलो वर्ष गोरखाको लाप्राकमा गरिएको महोत्सव दोस्रो वर्ष काभ्रेको भकुण्डेबेसीमा भएको थियो।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल संयोजकत्वको जुरी कमिटिमा गणेश पाण्डे, भरत रेग्मी, ज्योतिराज राई र कुबेरराज गिरी छन्। ६ गते सुरू हुने महोत्सव ८ गतेसम्म चल्नेछ।
यी हुन छनोट भएका फिल्महरू
फिचर फिल्म
नाङ्गो गाउँः दिपेन्द्र लामा
दिमाग खराबः निश्चल बस्नेत
बिच्छेदः सत्यराज चौलागाईँ
सतीदेवीः लक्ष्मण सुवेदी
सर्ट फिल्म
द डार्क बेकनः पवन केसी
सिगरेटः डब्बु क्षेत्री
सिपाईको छोरोः सुरज पौडेल
द ग्रेट मुखियाः असिम पौडेल
डिस्पेयरः शिव पुरी
रित्तो गाउँः रामजी ज्ञवाली
आमाः परिच्छेद सेन
स्यालुटः अनुपराज राई
अन्तै मायाः रणधीर श्रेष्ठ
डकुमेन्ट्री फिल्म
आग्रेः अनिल बुढा मगर
स्नो लेपार्डः प्रदीप पोखरेल
इट्टा भट्टाः सुरेश डी मुखिया
बनकरियाः लक्ष्मी सुवेदी
भाषिक फिल्म
लिलामे माइलाः भिम लामा
माराङः बुद्दिया एस मगर
स्वयनगुः अमृतमान महर्जन