निर्देशक सुदर्शन थापाले अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म निर्देशन गर्ने भएका छन्।
मंगलबार मात्रै आफूहरूबीच फिल्ममा सहकार्य गर्ने सम्झौता भएको सुदर्शनले बताए। '८ वर्षपछि सहकार्य हुन लागेको छ। हाम्रो पहिलो सहकार्य प्रेम गीतले दर्शकमाझ जुन छाप छाडेको थियो। सोही खालको लभस्टोरी फिल्म बनाउने प्रयास रहनेछ,' सुदर्शनले भने।
सुदर्शनको निर्देशनमा प्रदीपको मुख्य भूमिका रहेको फिल्म 'प्रेम गीत' ले राम्रो व्यापार गरेको थियो। त्यसको ८ वर्षपछि उनीहरूबीच दोस्रोपटक सहकार्य हुन लागेको हो।
फिल्मको नाम र अन्य कुराहरू भने सुदर्शनले खुलाएका छैनन। उनी यतिबेला फिल्म 'रावायण' को तयारीमा छन्। उक्त फिल्मको छायांकनपश्चात मात्रै प्रदीपसँगको फिल्म फ्लोरमा जाने उनले जानकारी दिए।