चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'महाजात्रा' ले विश्वभरबाट २६ करोड ६५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
निर्माण कम्पनी षट्कोण आर्टसले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै फिल्मले चार सातामा नेपालमा १५ करोड ९० लाख रूपैयाँ र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको जानकारी दिएको हो।
शुक्रबारदेखि प्रदर्शनको पाँचौं सातामा प्रवेश गरेको फिल्मले षट्कोण आर्ट्सका अघिल्ला सबै फिल्मको कमाइको रेकर्ड समेत तोडेको विज्ञप्तिमा उल्लेख छ। 'टलकजंग भर्सेस टुल्के', 'जात्रा', 'जात्रै जात्रा' र 'महापुरूष' षट्कोण आर्टसले यसअघि निर्माण गरेका फिल्महरू हुन्।
'महाजात्रा' अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म समेत बनेको निर्माण टिमको दाबी छ।
प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रबिन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा फिल्मको निर्माण गरेका हुन्।
षट्कोण आर्ट्सले २०८२ सालको दसैंमा नयाँ फिल्म दर्शकमाझ ल्याउने घोषणा गरिसकेको छ।