फिल्म 'डिग्री माइला' ले एक सातामा ५ करोड रूपैयाँ बढी ग्रस कलेक्सन गरेको छ।
पहिलो दिन ९८ लाख र दोस्रो दिन २ करोड ८ लाख रूपैयाँ कलेक्सन गरेको फिल्मले बिहीबारसम्ममा ५ करोड ५ लाख रूपैयाँ ग्रस कमाएको हो।
फिल्मले काठमाडौं उपत्यकामा २ करोड ५० लाख र काठमाडौं बाहिर २ करोड ५५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माता मणिराम पोखरेलले बताए।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माता पोखरेलले फिल्मको कमाइ आफूहरूले सोचेको जस्तो भने हुन नसकेको बताए। 'ओपनिङ धेरै होला भन्ने अपेक्षा थियो। तर सोचेजस्तो गएन। शनिबार राम्रो भयो,' उनले भने 'हामीले कबड्डी, जारीको बुकिङ हेरेको हुनाले बानी लागिसकेको रहेछ। अपेक्षा धेरै गर्न पुगेछौं।' उनले हलमा दर्शकसँगको साक्षात्कारमा आफूहरूले राम्रो प्रतिक्रिया पाएको बताए। फिल्मको लगानी सुरक्षित भइसकेको समेत उनले बताए।
अभिनेता दयाहाङ राईले पहिलो साताको कमाइ र दर्शक प्रतिक्रिया अपेक्षित नै रहेको बताए। 'यसको तयारी सुरू गर्दै गर्दा हाम्रो टिमले अघिल्लो पटक गरेका फिल्मको जस्तो अपेक्षा दर्शकले गर्नुहुन्छ भन्ने प्रेसर थियो। तर नयाँ तरिकाले काम गरेको हुनाले अघिल्ला फिल्मको जस्तो व्यापार हुन्छ भन्ने चाहिँ अपेक्षा थिएन,' दयाहाङले भने।
आफ्नो टिम नयाँ तरिकाले कथा भन्ने, फरक शैलीको कथा भन्ने प्रयासमा रहेको र त्यसको सुरूआत 'डिग्री माइला' बाट भएको दयाहाङले बताए।
फिल्मलाई लिएर दर्शकबाट आफूलाई मिश्रित प्रतिक्रिया आएको उनले सुनाए। अघिल्ला फिल्मसँग तुलना गरेर हेरेको हुनाले पनि मिश्रित प्रतिक्रिया आएको दयाहाङले बताए।
रामबाबु गुरूङको निर्देशनमा बनेको 'डिग्री माइला' मा दयाहाङको जोडीका रूपमा आँचल शर्माको अभिनय छ। साथमा माओत्से गुरूङ, प्रकाश घिमिरे, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाललगायत कलाकारको पनि अभिनय छ। मणिराम पोखरेलसहित विशाल गुरुङ, मधु मिजार र सुष्मा गुरूङ फिल्मको निर्माता हुन्।
फिल्म शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ।