आसुसेन फिल्मसले निर्माण गर्न लागेको फिल्म 'बलिदान' मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन्। निर्माण टिमले उनीसँग औपचारिक सम्झौता गर्दै फिल्ममा भित्र्याएको हो।
प्रमुख भूमिकामध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए। 'अभिनयमा पारंगत दिव्यजीलाई हामीले पहिलेदेखि नै नजरमा राखेका थियौँ। बलिदानको एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ,' निर्देशक सेनले भने।
नाट्य र फिल्म अभिनयलाई सँगै अगाडि बढाइरहेका दिव्यले 'चिसो एस्ट्रे', 'हिजो आजका कुरा', 'दि सेक्रेट्स अफ राधा', 'महाजात्रा' लगायतका फिल्ममा अभिनय गरेका छन्। उनको फिल्म 'रुदाने' भने रिलिज भएको छैन।
उनले भर्खरै छायांकन सकिएको फिल्म 'मेयर' मा पनि अभिनय गरेका छन्। अभिनेता दिव्यले 'बलिदान' को टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए। 'भव्यताका साथ फिल्म बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ,' उनले भने।
अभिनेता विराज भट्टका छोरा समीरले 'बलिदान' बाट फिल्ममा डेब्यु गर्दैछन्। यो फिल्ममा यसअघि अभिनेताहरू सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्।
यसै वर्ष रिलिज हुने भनिएको 'बलिदान' को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। फिल्मको करिब ६० प्रतिशत छायांकन स्टुडियोमा नै हुनेछ। निर्देशक सेनले फिल्मको कथामा आउने देश, काल र परिस्थितिलाई दुरूस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच सेट डिजाइन भइरहेको बताए।
देशको अस्मिता जोगाउन एक युग पुरूष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन्। आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्मको निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह–निर्मातामा अभिनेतासमेत रहेका प्रेम पुरी छन्।