कर्णाली प्रदेशमा पहिलोपटक ‘लिटरेचर फेस्टिभल (साहित्य महोत्सव)’ हुँदैछ।
फ्युचर नेपालको पठन तथा लेखन अभियान कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलबार साहित्य महोत्सव हुन लागेको हो।
महोत्सव मंगलबार बिहान ११ बजेदेखि सुरू हुने आयोजक समितिका संयोजक डा. नवराज केसीले जानकारी दिए।
कर्णाली प्रदेशमा पठन संस्कृतिको विकास गर्न साहित्य महोत्सव आयोजना गर्न लागिएको उनले बताए। यसका साथै नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिको विकास गर्न लिटरेचर फेस्टिभल थालिएको केसीले बताए।
कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास, कर्णालीका बारेमा लेखिएका पुस्तकको संकलन तथा प्रदर्शनी, कर्णालीका सर्जक र लेखकहरूको पहिचान, लेखक र पाठकबीचको सम्बन्ध विस्तार, लेखक, पाठक र प्रकाशकबीच अनुभव आदानप्रदान, कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्ने उद्देश्यका साथ ‘कर्णाली लिटरेचर फेस्टिभल–२०८१’ आयोजना गर्न लागिएको हो।
फेस्टिभलको पहिलो संस्करण एक दिन मात्र चल्नेछ। मंगलबार फेस्टिभलका क्रममा पहिलो चरणमा पठन संस्कृतिबारे बहस र विमर्श गरिनेछ। कर्णालीका बारेमा लेखिएका विभिन्न पुस्तक प्रदर्शनी, लेखक र पाठकसँग साक्षात्कार, लेखन प्रतियोगिता पनि तय गरिएको छ।
कर्णाली साहित्य महोत्सवमा चारवटा सत्र रहेका छन्। पहिलो सत्र ‘किन पढ्ने, किन लेख्ने?’ शीर्षकका हुनेछ। जसमा लेखकहरूले आफ्ना कुरा राख्नेछन्।
‘पठन र नेतृत्व’ शीर्षकमा दोस्रो सत्र हुनेछ। यसमा नेतृत्वमा रहेका मानिसले पढ्न किन जरूरी छ? भन्ने विषयमा बहस हुनेछ। यो सत्रमा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउत सहभागी हुनेछन्।
तेस्रो सत्रका रूपमा डा. माइकल हटले आफ्नो प्रस्तुति राख्नेछन्। माइकलले नेपाली भाषामा विद्यावारिधी गरेका छन्। हाल कर्णाली प्रदेशको दलित साहित्यका बारेमा अनुसन्धान गरिरहेका छन्।
अन्तिम सत्रका रूपमा ‘कर्णालीमा भाषा, साहित्य र शिक्षा’ विषयमा छलफल हुनेछ। जसमा यहाँको भाषा, साहित्य र शिक्षाको बारेमा विद्यावारिधी गरेका विज्ञहरूले छलफल गर्नेछन्। महोत्सवमा कविता पनि प्रस्तुत गरिनेछ। जसमा कर्णाली प्रदेशका छोरीहरूले मात्र आफ्ना कविता सुनाउनेछन्।
त्यसपछि अन्तिममा खस भाषाका गजलहरू सर्जकले प्रस्तुत गर्नेछन्।