लेखक एवं निर्देशक उपेन्द्र सुब्बाले 'मनसरा' मा सरल तरिकाले कथा भन्ने कोसिस गरेको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मिश्रित समाजको कथा फिल्मले प्रस्तुत गर्ने बताए।
उनले फिल्म क्षेत्रमा आफूले धेरै वर्ष बिताइसकेको हुनाले गल्ती गरेर माफी माग्ने छुट नभएको बताए। 'यो फिल्ममा सकेको कोसिस गरेको छु। जिम्मेवारी बोधले पनि काम गरेको छु। म सँग रेला गर्ने उमेर पनि रहेन्,' उनले भने 'फिल्म क्षेत्रमै १२-१५ वर्ष बिताइसकेँ। बिगार गरेर एक्सक्युज माग्ने छुट छैन जस्तो लाग्छ।'
उनले 'जारी' मा केही सिकेको बताउँदै 'मनसरा' मा केही फरक र थोरै नयाँ कोसिस गरौं भन्ने हिसाबले काम गरेको बताए। 'मेरो प्रयास कतिसम्म प्रयाप्त छ भन्ने फिल्म हेरेरै भन्न सकिएला। फरक नभए मेरो कोसिस अप्रयाप्त भएछ भनौंला। तर एक्सक्युज माग्दिनँ,' उनले भने।
उनले फिल्मको व्यवसायिक पाटोलाई लिएर आफूले प्रेसर नलिएको समेत स्पष्ट पारे।
अभिनेता दयाहाङ राईले 'मनसरा' मा आफूले गरेको पात्र पर्दामा अरुले गरेको हेर्ने पाए हुन्थ्यो भन्ने खालको लोभलाग्दो पात्र रहेको बताए। 'नढाँटी भन्नुपर्दा यो पात्र मैले नगरेर, अरूले गरेको हेर्न पाए कस्तो आनन्द हुन्थ्यो हुन्थ्यो होला भन्ने लागेको थियो। अहिले पनि लाग्छ,' उनले भने, 'यो मेरो लागि डाह लाग्ने पात्र हो। अरूले निर्वाह गरेको आनन्दसँग बसेर हेर्न चाहन्थे। तर आफैले गर्नुपर्ने अवस्था आयो।'
अभिनेता प्रवीण खतिवडाले 'मनसरा' मा समाजमा कतै देखे/भोगेको कथा रहेको बताए। उनले फिल्म हेर्दा आफ्नै परिवार, समाजको कथा हेरेझै लाग्ने सुनाए। आफ्नो पात्र पनि समाजमा कतै देखिसकेको/भोगिसकेको भएकाले क्यारेक्टरको विकासमा अप्ठ्यारो नभएको समेत अनुभव साटे। 'यो मिश्रित समाजभित्रको कथा हो। सामाजिक ड्रामा हो। मेरो भेगाइभित्रको, देखेमा मान्छेहरूको कथा हो,' उनी भन्छन्, 'अहिलेसम्म सानाठूला जति भूमिका निर्वाह गरेँ सबैमा न्याय गर्ने कोशिस गरेको छु। यसपटक पनि न्याय गर्ने कोसिसका साथ काम गरेको छु। फिल्मबाट पूर्ण आशावादी छु।'
फिल्ममा एकल आमा र एकल महिलाको भूमिका निर्वाह गरेकी अभिनेत्री मिरुना मगरले ‘मनसरा’ मा आफूले आफूलाई 'एक्सप्लोर' गर्ने अवसर पाएको सुनाइन्।
उनले वास्तविक जीवनमा आफू आमा नभएपनि फिल्मबाट आमाको अनुभूति गर्न पाएको बताइन्। उनले आफ्नो पात्रबारे भनिन्, 'त्यो क्यारेक्टर देखिरहेको, भेटिरहेको तर नियाल्ने मौका नपाएको लाग्यो।' मनसराको आफ्नो भूमिकालाई दर्शकले रुचाउनेमा आशावादी रहेको मिरूनाले बताइन्।
अर्की अभिनेत्री मेनुका प्रधान पनि फिल्मलाई लिएर आशावादी देखिइन्। 'फिल्म हेरून्जेल आफ्नो सबै कुरा बिर्सिएर मजा लिएर निस्किनुहुन्छ जस्तो लाग्छ,' उनले भनिन्। निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्कीले राम्रो टिम भएकाले फिल्मलाई लिएर प्रेसर महसुस गर्न नपरेको बताए।
'मनसरा' यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउँदैछ।