अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले 'एक्टर' मार्फत नेपाली फिल्ममा डेब्यू गर्दैछिन्।
यो फिल्मको मंगलबार गरिएको शुभमुहूर्त समारोहमा दिव्या पनि सहभागी भइन्। उनले अभिनेता प्रदीप खड्कासँग एउटै फ्रेममा रहेर मिडियामा कुराकानी समेत गरिन्। त्यसक्रममा दिव्याले जन्मभूमिलाई कर्मभूमि बनाउन आफू नेपाल फर्किएको बताइन्।
'अमेरिकामा काम गरिरहेकी थिए। तर मलाई नेपाल फर्किएर आफ्नो जन्मभूमिलाई कर्मभूमि बनाउन मन थियो। त्यही भएर फर्किएँ,' उनले भनिन्।
उनले अभिनेता प्रदीपको खुलेर प्रशंसा गरिन्। डेब्यु फिल्ममा प्रदीप हुने कुरा थाहा पाउँदा एकदमै खुशी लागेको समेत बताइन्। 'उहाँलाई पहिल्यैदेखि फलो गर्दथेँ। राम्रो कलाकार हुनुहुन्छ। एकदमै राम्रो अभिनय गर्नुहुन्छ। उहाँ यो फिल्ममा हुनुहुन्छ भनेपछि सुनमा सुगन्धजस्तो एकदमै खुशी फिल भयो,' उनले भनिन् 'वर्कसपमा पहिलोपटक भेट्दा सुरूमै उहाँ एकदमै मिलनसार लाग्यो। संगै काम गर्न पाउँदा एकदमै खुशी छु।'
दिव्याले अरू फिल्मका लागि पनि पहिल्यैदेखि कुरा भइरहेको तर यो फिल्म सुरूमा छायांकनमा जाने भएपछि 'एक्टर' मा जोडिएको बताइन्।
अभिनयमा आफ्नो सानैदेखिको रूचि भएको बताउँदै दिव्याले अमेरिकामा रहेर थिएटर पढ्नुका साथै नृत्यको प्रशिक्षण समेत लिएको सुनाइन्। फिल्मका लागि नेपाल आएपछि पनि वर्कसप सुरू गरेको जानकारी दिइन्।
प्रदीपले पनि डेब्यु अभिनेत्री दिव्याको खुलेर प्रशंसा गरे। उनले दिव्यालाई नयाँ सम्भावित प्रतिभाशाली अभिनेत्रीका रूपमा लिएको बताए।
फिल्मलाई लिएर प्रदीप उत्साहित सुनिए। 'एक्टर नै बनेर प्रस्तुत हुन पाउने अवसर विरलै हुन्छ। फिल्मको एक्टर त थिएँ। अब फिल्मभित्रै पनि एउटा एक्टरको रूपमा छु,' उनले भने, 'मैले एक्टर, आर्टिस्टलाई जसरी बुझिरहेको थिए। त्यो कुरा पनि फिल्मभित्र जोडिएर आउँछ।'
राजन भुसालको निर्देशनमा तयार हुने फिल्म 'एक्टर' को निर्माता थमन कुमार भण्डारी हुन्। फिल्ममा प्रदीप र दिव्यासहित आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारहरूको पनि शीर्ष भूमिका रहनेछ। वैशाखभित्रै छायांकनमा जाने फिल्म लक्ष्मी पूजाको अवसर पारेर कात्तिक १५ गते रिलिज हुनेछ।