अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्म 'भाइरल गोर्खे' को शुभमुहूर्त गरिएको छ।
कमेडी जनरामा निर्माण हुने फिल्मको मंगलबार लमजुङको भुजुङ गाउँमा शुभमुहूर्त गरिएको हो। फिल्मका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरू सौगात मल्ल, लक्ष्मी गिरीलगायतको उपस्थितिमा मुहूर्त गरिएसँगै फिल्मको छायांकन पनि सुरू भएको छ।
फिल्मको अधिकांश छायांकन लमजुङको भुजुङ गाउँमा हुनेछ। साथै, गोरखा र चितवनमा पनि छायांकन गरिने निर्देशक निगम श्रेष्ठले बताए। सामाजिक संजालले समाजमा पारेको सकारात्मक र नकारात्मक प्रभावको कथालाई फिल्ममा देखाइने निर्माता लामिछानेले बताए।
अभिनेता सौगात मल्लले आफूले दर्शकलाई सधैं नयाँ स्वाद दिन खोज्ने भन्दै यस फिल्ममा पनि केही फरक देख्न सकिने बताए।
कलाकार लक्ष्मी गिरीले फिल्म रमाइलो बन्ने विश्वास रहेको बताइन्। यो फिल्ममा लक्ष्मी र सौगात आमा–छोराको भूमिकामा देखिँदैछन्।
सृष्टि श्रेष्ठ, बुद्धि तामाङलगायत कलाकारको पनि फिल्ममा मुख्य भूमिका रहेनछ। लामिछाने र विशाला ताम्राकारको निर्माण रहेको फिल्मलाई अमर महर्जनले खिच्नेछन्।
द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो।