लोकप्रिय हास्य टिभी सिरियल 'सक्किगोनि' मा पछिल्लो समय कुमार कट्टेल 'जिग्री' देखिएका छैनन्।
सिरियलका शीर्ष कलाकार दुई महिनायताका कुनै एपिसोडमा नदेखिनुको कारण हो– फिल्मको तयारी। 'सक्किगोनि' को टिमले कथानक फिल्म 'लाज शरणम्' बनाउने घोषणा गरिसकेको छ।
कुमार केही समययता यही फिल्मको गृहकार्यमा व्यस्त बनेका हुन्। 'हामीले कार्यविभाजन गरेर सिरियल र फिल्मको काम गरिरहेका छौं। जसअनुसार मैले बढी समय फिल्मको तयारीलाई दिइरहेको छु,' कुमारले भने, 'फिल्मको गृहकार्यले गर्दा सुटिङ स्थलमा पुगेर सिरियल खेल्न नभ्याएको हुँ। अरू कामहरू चाहिँ सघाइरहेको छु।'
कुमारका अनुसार फिल्मको पटकथा र संवाद लेखनको काम फाइनल गर्ने अन्तिम तयारी भइरहेको छ।
फिल्मको कथा, कलाकार र निर्देशकबारे 'सक्किगोनि' टिमले केही जानकारी दिएको छैन। यद्यपि फिल्मलाई कुमार स्वयंमले निर्देशन गर्ने चर्चा छ। यसबारेको जिज्ञासामा उनले भने, 'अहिले हामी आन्तरिक गृहकार्यमै छौं। कलाकार, निर्देशकसहितका बाँकी जानकारी यही महिनाभित्रै दिनेगरी तयारी छ।'
अर्जुन घिमिरे 'पाँडे' र कुमारको संयुक्त निर्देशन रहँदै आएको 'सक्किगोनि' टिमले दुई महिनाअघि पोस्टरमार्फत फिल्मको नाम सार्वजनिक गरेको थियो।
सिरियल निर्माणमा लागेको १० वर्षपछि यो टिमले फिल्म निर्माणमा पाइला चाल्न थालेको हो।