अभिनेत्री केकी अधिकारीको निर्माण एवं अभिनय रहेको फिल्म 'बोक्सीको घर' लाई प्रिमियरमा प्रशंसा मिलेको छ। बुधबार बेलुका काठमाडौंमा गरिएको प्रिमियरपश्चात कलाकारहरूले फिल्मको प्रशंसा गरेका छन्।
निर्देशक एवं अभिनेत्री दीपाश्री निरौलाले फिल्मको निर्देशन, अभिनय र छायांकन पक्षको प्रशंसा गरिन्। 'फरक तरिकाले प्रस्तुत गरिएको छ। केकीको प्रयास अब्बल छ,' उनले भनिन्।
अभिनेता भुवन केसीले फिल्म हेरिरहँदा धेरै ठाउँमा इमोसनल भएको प्रतिक्रिया दिए। 'यस्तो कथालाई लिएर फिल्म बनाउन आँट गर्नु नै ठूलो कुरा हो,' उनले भने, 'फिल्ममा ठूलो सन्देश छ। अर्को पक्ष सबै कलाकारहरूको अभिनय राम्रो छ।'
अभिनेत्री स्वस्तिमा खड्काले फिल्म राम्रो लागेको बताइन्। 'फिल्ममा सबै जना कलाकारहरूले एकदमै राम्रो काम गर्नुभएको छ। यसको केही श्रेय निर्देशकमा पनि जान्छ होला,' उनले भनिन्। बालकलाकार सुपला सापकोटाको अभिनयलाई उनले खुलेर प्रशंसा गरिन्।
'बोक्सीको घर' को गीत 'बुझिन् मैले' तयार पारेका गायक एवं अभिनेता प्रकाश सपूतले गम्भीर विषयमा सरल तरिकाले कथा भनिएको बताए। 'टिजर, ट्रेलर हेर्दा अलि बुझ्न सकिँदैन् कि, हरर हो कि जस्तो पनि लाग्छ,' उनले भने, 'तर फिल्म सबैले हेर्न मिल्ने, हेर्दाहेर्दै रूने, रूँदा रूँदै हास्ने, कथा मजाले बुझिने सरल तरिकाले बनेको छ। राम्रो छ।'
निर्देशक प्रदीप भट्टराईले इमानदार भएर फिल्म बनाएको भन्दै प्रशंसा गरेका छन्। उनले अभिनेत्री केकीले फरक विषयमा फिल्म बनाउने आँट गरेको भन्दै सबैले साथ दिन समेत आग्रह गरेका छन्।
निर्देशक अशोक शर्मा, ज्ञानेन्द्र देउजा, शोभित बस्नेत, अभिनेत्री गौरी मल्ल, बेनिशा हमाल, रीमा विश्वकर्मा, निशा अधिकारी, अभिनेता सलोन बस्नेतलगायत कलाकारहरूले पनि फिल्मको खुलेर तारिफ गरे।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म 'बोक्सीको घर' मा बोक्सी कुप्रथाको विषयलाई उठान गरिएको छ। अभिनेत्री केकीले फिल्ममा समाजको कथा उठान गरिएकाले सबैको साथ पाउने विश्वास व्यक्त गरिन्।
फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जिवन बराल, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ। निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी छन् भने राज घिमिरे फिल्मको कार्यकारी निर्माता हुन्।
सामाजिक–थ्रिलर जनरामा निर्माण भएको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।