अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी फिल्म 'खुश्मा' को छायांकनका लागि रूकुम पुगेका छन्।
गत माघमा मनाङमा पहिलो चरणको छायांकन गरिएको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रूकुमको मैकोटबाट सुरू भएको छ।
बिहीबारदेखि सुरू भएको छायांकन पुन मगरको उद्गमस्थल रूकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने निर्देशक अशोक थापा मगरले बताए। उनका अनुसार मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापा मगर आफैले लेखेका हुन्।
फिल्मको छायांकन गर्न पुगेको ‘खुश्मा’ टिमलाई मैकोटबासीले स्वागत गरेका थिए। रूकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो। उनी त्यहाँबाट २ वर्षको उमेरमा युके गएका थिए।
फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरूण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारहरूको अभिनय रहनेछ।
फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यले खिचिरहेका छन्।
फिल्म संविधान दिवसको अवसर पारेर असोज ३ गते नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ।