अभिनेता विपीन कार्की फिल्म 'तेल भिसा' को छायांकनका लागि अमेरिका पुगेका छन्।
लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्मका लागि विपीन पहिलोपटक अमेरिका गएका हुन्।
नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा मुख्य सहायक निर्देशक मछिन्द्र योङगासहित उनी अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिए।
उनीहरूलाई नेपालबाट विदाई गर्न फिल्मका निर्माता टिकाराम बुढाथोकी पुगेका थिए भने अमेरिकामा स्वागत गर्न फिल्मकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे पुगेकी थिइन्।
ऋचाले यो फिल्ममा एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्दैछिन्। फिल्ममा विपीन दोहोरो भूमिकामा देखिनेछन्। गौरी मल्ल र वर्षा राउतको समेत फिल्ममा शीर्ष भूमिका रहनेछ।
छायांकनका लागि वर्षा केही दिनमा र गौरी अर्को हप्ता अमेरिका जाने तयारी छ। छायांकार सुशन प्रजापति केही दिन अघि नै बाल्टिमोर पुगिसकेका छन्।
अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरूको समेत सहभागितामा 'तेल भिसा' को छायांकन वैशाख २५ गतेदेखि एक महिनासम्म चल्नेछ।
मेरिल्याण्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत फिल्म खिचेर टिम बाँकी छायांकनका लागि नेपाल फर्किनेछ।