अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म 'बोक्सीको घर' ले उत्साहजनक सुरूआत गरेको छ।
प्रदर्शनको पहिलो दिन बिहानदेखिका शोमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको थियो। धेरै शो हाउसफुल समेत भएका थिए।
शुक्रबारको ओपनिङ सुखद् भएपछि हलले शनिबारका लागि फिल्मको शोमा भारी वृद्दि गरेका थिए। काठमाडौंसहित देशैभरका धेरै हलमा शनिबार बिहानैदेखिका शोमा दर्शकको बाक्लो उपस्थिति रह्यो।
शनिबार दिउँसो र बेलुकीका कतिपय शोमा फिल्मको अकुपेन्सी शतप्रतिशतसम्म देखिएको छ। निर्मात्री एवं अभिनेत्री केकी अधिकारी फिल्मको टिमसहित दर्शक प्रतिक्रिया लिन हल–हलमा पुगिरहेकी छन्।
हलमा पुगेर प्रतिक्रिया लिनुका साथै फिल्मको हिट गीत 'बुझिन् मैले' मा केकीले दर्शकसँगै नृत्य समेत गरेकी छन्। दर्शकसँग फोटो खिच्न समेत उनलाई भ्याइनभ्याइ देखिएको छ।
अभिनेत्री केकीले आफूहरूले सोचेको भन्दा धेरै माया पाएको भन्दै खुशी व्यक्त गरिन्। ‘सोचेका थियौं, राम्रो कन्टेन्ट र कनेक्ट हुने माटोको स्वाद दिन सकियो भने दर्शकहरूले साथ दिनुहुन्छ भन्ने विश्वास थियो,' उनले भनिन् –'तर सोचेको भन्दा धेरै राम्रो भइरहँदा हो कि, होइन् कि, के भइरहेको छ भनेर हामी आफै पनि कुराकानी गरिरहेका हुन्छौं।'
केकीले व्यापारको हिसावले पनि सोचेको भन्दा धेरै राम्रो भइरहेको बताइन्।
उनले आफूहरूले उठाएको कथा फिल्म हल नभएका स्थानमा पुग्न अझ जरूरी रहेको बताउँदै त्यसबारे पनि सोचिरहेको बताइन्।
'बोक्सीको घर' लाई रंगकर्मी सुलक्षण भारतीले लेखन तथा निर्देशन गरेका हुन्। उनले पनि यो तहको साथ आफूले पहिले नसोचेको बताए।
उनले इमानदारीपूर्वक आफ्नो माटोको गन्ध आउने फिल्म बनाएको भन्दै आगामी दिनमा पनि साथ पाउने विश्वास व्यस्त गरे।
बाल कलाकार सुपला सापकोटाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन्।
फिल्ममा केकी र सुपलासहित श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सुलक्षण भारती, सबिन बास्तोलालगायत कलाकारहरूको अभिनय छ। फिल्मले बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा प्रस्तुत गर्छ।