शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'बोक्सीको घर' मा समावेश गीत 'बुझिनँ मैले' लाई छोटो समयमै युट्युबमा एक करोड बढी पटक हेरिएको छ।
सार्वजनिक भएको तीन सातामै आइतबार गीत करोड क्लबमा पुगेको हो। प्रकाश सपुतको सिर्जना तथा समीक्षा अधिकारीको स्वर रहेको यो गीत सार्वजनिक भएसँगै चर्चामा थियो।
गीतले 'बोक्सीको घर' को हाइप बढाउन महत्वपूर्ण भूमिका खेलेको र त्यसको फाइदा फिल्मको ओपनिङमा देखिएको अनुमान गरिएको छ।
फिल्मले दुई दिनमा २ करोड १५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक भएको छ। शुक्रबार र शनिबार देशैभरका हलमा फिल्मले दर्शकको उत्साहजनक साथ पाएको थियो।
अभिनेत्री एवं निर्मात्री केकी अधिकारीले फिल्मको बारेमा दर्शकलाई जानकारी दिन 'बुझिनँ मैले' गीतले ठूलो भूमिका खेलेको बताइन्।
अन्तिममा बोल्ने फिल्मले नै भए पनि दर्शकलाई सुरूआतमा फिल्मप्रति आकर्षित गर्नका लागि गीतको भूमिका विशेष रहेको उनको बुझाइ छ।
शनिबार दर्शक भेट्न हलमा पुगेकी केकीले त्यसक्रममा सञ्चारकर्मीसँग भनिन् 'फिल्म यो गते लाग्दै रहेछ। यो सम्बन्धि कथासार बोकेको रहेछ भन्ने जानकारी दिनका लागि गीतले एकदमै ठूलो भूमिका खेलेको छ।'
लेखक एवं निर्देशक सुलक्षण भारतीले पनि दर्शकलाई हलसम्म तान्नमा गीतको भूमिका महत्वपूर्ण रहेको बताए।
'प्रकाशजीले जुन किसिमले शब्द रचना, संगीत दिनुभयो। यो गीतको कारणले गर्दा पहिलो अडियन्स हलसम्म आउनुभएको हो,' उनले भने, 'अन्तिममा चाहिँ फिल्मले बोल्नुपर्छ भन्ने हाम्रो विश्वास थियो। म आफैं मेकर भएकाले मेरो फिल्मले बोल्यो कि बोलेन भन्न सक्दिन्। त्यो दर्शकले दिनुपर्ने प्रतिक्रिया हो। संगीतको हिसाबले चाहिँ गीतका विभिन्न स्वाद हुनुपर्छ भन्ने पक्षमा छु।' समग्रमा फिल्मलाई नै दर्शकले तारिफ गरिरहेका छन्।
'बुझिनँ मैले' लाई सुदीप सागरले एरेन्ज गरेका हुन्। सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ बनेको हो। गीतको कोरियोग्राफीलाई लिएर पनि सुरूदेखि चर्चा भइरहेको थियो।