अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको फिल्म 'दान्भी' पूर्व निर्धारित मितिमा रिलिज नहुने भएको छ। जेठ १० का लागि फिल्मको प्रदर्शन मिति तय भएकोमा अब उक्त दिन फिल्म रिलिज नहुने भएको वितरक करण श्रेष्ठले बताए।
चलचित्र संघ र निर्माण पक्षबीच नयाँ मितिमा फिल्म प्रदर्शनमा ल्याउने सहमति जुटेको उनले जानकारी दिए।
निर्देशक रूपेश तामाङले फिल्म क्षेत्रको हितका लागि आफूहरूले यो निर्णय लिएको बताए। 'दुईवटा फिल्मसम्म ठिकै हो भनेर उक्त मिति तय गरेका थियौं। पछि अर्को फिल्म पनि सोही मितिमा थपियो। तीनवटा फिल्म चाहिँ जुधाउनु हुँदैन भन्नेमा पहिल्यैदेखि थियौं,' उनले भने, 'सबैलाई राम्रो होस् भन्ने सोचेरै नयाँ मितिमा आउने निर्णय लिएका हौं।'
फिल्मलाई असारमा प्रदर्शनमा ल्याइने निर्देशक तामाङले बताए। उनका अनुसार पूजा शर्माको सोमबार परेको जन्मदिनको अवसर पारेर फिल्मको गीतसँगै नयाँ प्रदर्शन मिति घोषणा गरिनेछ।
'दान्भी' मा पूजा शर्माको जोडीका रूपमा कुन्साङ बोमजनले अभिनय गरेका छन्। फिल्मको निर्मातामा देव मगर र अनुप गडाल छन्। एक्सन जनरामा फिल्म बनेको हो।
‘दान्भी’ को प्रदर्शन मिति सरेसँगै जेठ १० मा अब 'फर्की फर्की' र 'पुजार सार्की' मात्र प्रदर्शनमा आउनेछन्।