युट्युबमार्फत दर्शकमाझ आउने गरेको सिरियल 'बुहारी' अब टेलिभिजनमा पनि प्रसारणमा आउने भएको छ। दर्शकमाझ लोकप्रिय यो सिरियल हिमालय टेलिभिजनमा प्रसारणमा आउन लागेको हो।
त्यस्तै, युट्युबमा ओएसआर डिजिटलमार्फत सिरियल सार्वजनिक हुने भएको छ। यसअघि 'बुहारी अफिसियल' युट्युबमा प्रसारणमा आउने सिरियलको डिजिटल अधिकारी ओएसआरले खरिद गरेको हो।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच आगामी शुक्रबारदेखि सिरियल हिमालय टेलिभिजन र ओएसआर डिजिटलमार्फत प्रसारणमा आउने जानकारी दिइएको हो।
सो क्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र सिरियलको तर्फबाट निर्देशक रामचन्द्र बोहोराबीच लिखित सम्झौता भएको छ। त्यस्तै, ओएसआरका प्रबन्ध निर्देशक ओम प्रकाश अग्रवाल र सिरियलका निर्देशक बोहोराले पनि सोमबार नै लिखित सम्झौता गरेका छन्।
'बुहारी' राम्रो सिरियल भएकाले सहकार्य गरिएको ओएसआरका प्रबन्ध निर्देशक अग्रवालले बताए। हिमालय टेलिभिजनका निर्देशक कँडेलले आफूहरूले राम्रो कन्टेन्टलाई सधै प्राथमिकता दिँदै आएको बताए।
सिरियलका निर्देशक रामचन्द्र बोहराले हिमालय टेलिभिजन र ओएसआर डिजिटलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। आगामी दिनमा सिरियललाई अझ राम्रो बनाउँदै लैजाने आफूहरुको कोशिस रहने उनले बताए।
हास्य कलाकार मरिचमान श्रेष्ठ 'बल्छि धुर्वे' र राजु पौडेल 'राजु मास्टर' समेत कार्यक्रममा शुभकामना दिन पुगेका थिए। 'बुहारी' सिरियलका शीर्ष कलाकार अनिता बैजु, लक्ष्मण विक्रम बस्नेतलगायतले समेत धारणा राखे।
सेन्टिमेन्टल सिरियल 'बुहारी' मा रामचन्द्र बोहरा, अनिता बैजु, लक्ष्मी गिरी, देशभक्त खनाल, विजय देउजा, लक्ष्मण विक्रम बस्नेत, विद्या कार्की, महेशजंग थापा, सरिता राजोपाध्याय, अन्जु हमाललगायत कलाकारहरूको अभिनय रहँदै आएको छ।
१ सय ७३ भाग प्रसारणमा आइसकेको सिरियललाई भवन भुजेलले छायांकन एवं सम्पादन गर्दै आएका छन्।