अभिनेता विराज भट्टको फिल्म '१२ गाउँ' बाट मोडल सनिशा भट्टराईले फिल्ममा डेब्यु गर्ने भएकी छन्।
उनलाई फिल्मको प्रमुख भूमिकामा लिइएको विराजले जानकारी दिए। सनिशासँगका दुई तस्बिर फेसबुकमा साझा गर्दै उनले लेखेका छन् – 'धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै। उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना।'
सनिशा म्युजिक भिडिओमा छोटो समयमै रोजाइमा परेकी मोडल हुन्। पहिलो भिडिओ 'ए होर माया' नै सुपरहिट भएपछि उनी धेरैको नजरमा परेकी थिइन्।
फिल्ममा अनुबन्धित भएसँगै सनिशाले कलाकारितामा एक पाइला अगाडि सार्ने सौभाग्य पाएको बताएकी छन्।
'१२ गाउँ' लाई विराजले निर्माण एवं निर्देशन गर्न लागेका छन्। फिल्मको शीर्ष भूमिकामा उनी स्वयंम देखिँदैछन्। उनका छोरा समीर भट्टले पनि यो फिल्ममा अभिनय गर्दैछन्। त्यस्तै मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्काले '१२ गाउँ' बाट फिल्ममा डेब्यु गर्दैछिन्। साउथका सुपरिचित द्वन्द् निर्देशक शिल्भा मास्टरले फिल्मको द्वन्द्ध निर्देशन गर्नुका साथै खलपात्रको भूमिकामा अभिनय समेत गर्दैछन्।
गायक एवं अभिनेता मुरलीधर, साउथ अभिनेता कनिज कोइराला पनि फिल्ममा अनुबन्धित भइसकेका छन्।
नरेन खड्का, कालु राना, सन्तोष सरकारलगायतको समेत फिल्ममा अभिनय रहनेछ।
सन्तोष सरकारले फिल्मको कथा एवं पटकथा लेखेका हुन्। विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा '१२ गाउँ' निर्माण हुन लागेको हो।