चर्चित अभिनेता विराज भट्ट यतिबेला आफ्नो निर्माण एवं निर्देशनमा नयाँ फिल्म '१२ गाउँ' बनाउने तयारीमा छन्। यो फिल्ममा उच्चस्तरको एक्सन पस्किने उनको तयारी छ।
फिल्मका लागि कलाकारको लाइनअप लगभग पूरा भएको विराजले जानकारी दिएका छन्। यसको मुख्य भूमिकामा उनी स्वयंले अभिनय गर्दैछन्।
छोरा समीर भट्टलाई पनि उनले फिल्ममा मुख्य भूमिकामा अभिनय गराउँदैछन्। समीरले भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइसकेका छन्। उनी सन्तोष सेनको फिल्म 'बलिदान' मा पनि अनुबन्धित भइसकेका छन्।
त्यस्तै, मोडल सनिशा भट्टराईले '१२ गाउँ' बाट फिल्ममा डेब्यु गर्दैछिन्। पहिलो म्युजिक भिडिओ 'ए होर माया' सुपरहिट भएपछि उनी छोटो समयमै धेरैको नजरमा परेकी मोडल हुन्। सनिशाले दर्जनौं भिडिओमा मोडलिङ गरिसकेकी छन्।
मिस नेपाल इन्टरनेशनल– २०२२ न्यान्सी खड्काले पनि यही फिल्मबाट फिल्मी करिअर सुरू गर्दैछिन्। उनी फिल्ममा अनुबन्धित भइसकेकी छन्।
साउथका थुप्रै फिल्ममा अभिनय गरेका कनिज कोइराला पनि विराजको फिल्ममा अनुबन्धित भइसकेका छन्। चर्चित भारतीय फिल्म 'साहो' मा समेत अभिनय गरेका उनी 'इन्टरनेशनल म्यानहन्ट नेपाल– २००९' सँगै पहिलो नेपाली ग्ल्याडरक्स मोडलसमेत हुन्। '१२ गाउँ' मा उनी डरलाग्दो खलपात्रको भूमिकामा देखिने विराजले बताएका छन्।
गायक एवं अभिनेता मुरलीधरले पनि यो फिल्ममा अभिनय गर्दैछन्। उनलाई विराजले केही समयअघि नै फिल्ममा स्वागत गरिसकेका छन्।
साउथमा सुपरिचित द्वन्द्ध निर्देशक सिल्भा मास्टरले यस फिल्ममा द्वन्द्ध निर्देशनका साथै अभिनय समेत गर्ने भएका छन्। उनी खलपात्रको भूमिकामा प्रस्तुत हुनेछन्। अभिनेता नरेन खड्काले पनि यो फिल्ममा अभिनय गर्दैछन्। कालु राना, सन्तोष सरकारलगायतको पनि फिल्ममा अभिनय रहनेछ।
भर्खरै वर्कसपको काम सकिएको फिल्मको वैशाखको अन्तिमदेखि छायांकन सुरू गर्ने तयारी छ।
पहिलो सेड्युल काठमाडौं र आसपासमा रहेको, त्यसपछि विरगञ्ज, हेटौंडा लगायतका स्थानमा फिल्म खिचिने विराजले बताए। 'यो एक्सन फिल्म हो। एक्सनमा केही विशेष देखाऔं भनेर लागिपरेको छु। थ्रिल, इमोशन लगायत सबै किसिमको मसला समेटेर उत्कृष्ट फिल्म बनाउने प्रयास हुनेछ,' विराजले फिल्मबारे भने।
फिल्मको कथा एवं पटकथा सन्तोष सरकारले लेखेका हुन्। विराजको होम प्रोडक्सनबाट निर्माण हुन लागेको ‘१२ गाउँ’ लाई सन् २०२४ भित्र प्रदर्शनमा ल्याइने जनाइएको छ।