अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार फिल्म 'लेबर' को निर्माण घोषणा गरिएको छ। फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने निर्देशक पुर्णेन्दु के झाले बताए।
काठमाडौंमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले फिल्मले लेबर र सरकारबीचको कथा भन्ने बताए। 'हाम्रो देशबाट लेबरको काममा विदेशिने संख्या बढी छ। उनीहरूको आ–आफ्नै कथा छ। ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनुपर्छ भन्ने लागेर हामीले फिल्म निर्माण गर्दैछौं,' निर्देशक झाले भने।
उनले फिल्मलाई मैथिली भाषामा तयार गर्दैछन्। नेपाली र भोजपुरीमा स्वरांकन गरेर फिल्म प्रदर्शन गरिने झाले बताए। 'हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन्। यसकारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौं,' उनले भने।
फिल्ममा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार अहिले तय भएका छन्। अन्य कलाकार छिट्टै घोषणा गरिने बताइएको छ।
सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन्।
कलाकार उत्पल झाले यस फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए। फिल्ममा प्रवेश मल्लिकको संगीत तथा पाश्र्वसंगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहनेछ।
फिल्मको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथिली भाषाको लागि अरिपन फिल्मस् प्राइभेट लिमिटेड रहेको छ।
प्रविण कुमार रावत प्रथम सहायक निर्देशक रहेको फिल्म ‘लेबर’ लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ।
पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्मस् प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा फिल्म निर्माण हुन लागेको हो।