उपेन्द्र सुब्बाको लेखन एवं निर्देशनमा बनेको फिल्म 'मनसरा' को बुधबार बेलुका ललितपुरमा प्रिमियर गरिएको छ।
क्युएफएक्स सिनेमाज लबिम मलमा गरिएको प्रिमियरमा फिल्मको टिमसहित थुप्रै सेलिब्रिटीको सहभागिता थियो। प्रिमियरमा यो फिल्मले राम्रो प्रतिक्रिया पाएको छ। कथा, प्रस्तुति, कलाकारहरूको काम राम्रो लागेको फिल्मकर्मीहरूले प्रतिक्रिया दिएका छन्।
निर्देशक निश्चल बस्नेतले फिल्मका सबै कलाकारको अभिनय उत्कृष्ट लागेको बताए। उनले उपेन्द्र सुब्बाको अघिल्लो फिल्म 'जारी' भन्दा 'मनसरा' अझ उत्कृष्ट र परिस्कृत बनेको धारणा राखे। 'एक पटक सम्पूर्ण दर्शकलाई यो फिल्म हेर्न अनुरोध गर्छु। उहाँले नेपाली फिल्ममा साहित्य जरूरी छ है भन्ने प्रमाणित गरिदिनु भयो,' निर्देशक बस्नेतले भने।
अभिनेता खगेन्द्र लामिछानेले पनि फिल्म मन परेको बताए। उनले सामाजिक कथा अनि देखेका र सुनेका घटनालाई फिल्ममा गहन रूपमा प्रस्तुत गरिएको बताए। 'उपेन्द्र दाईले फिल्ममा साहित्यलाई एकदमै मज्जाले कनेक्ट गरिदिनु भएको छ। त्यसैले एक पटक सबैले हेर्नुपर्ने फिल्म बनेको छ,' अभिनेता लामिछानेले भने।
निर्माता तथा निर्देशक अशोक शर्माले निर्देशक उपेन्द्र सुब्बाको काम र फिल्मको प्रस्तुतिकरण उत्कृष्ट लागेको बताए। निर्देशक प्रदीप भट्टराईले फिल्म फरक फरक आउनु पर्ने र त्यही फरक फिल्ममध्ये एक 'मनसरा' भएको बताए।
फिल्म उद्योग भनेको बगैंचा जस्तो भएकाले त्यहाँ थरीथरीका फूल फुल्न जरूरी रहेको उनले बताए। 'जारीमा उपेन्द्र दाई बगैंचामा एक-दुईथरी फूल फुलाउनु भएको थियो। यसपाली मनसरालाई पुरै बगैंचा नै बनाउनु भएको छ। सुन्दर बगैंचा एक पटक घुम्नैपर्ने खालको छ,' निर्देशक भट्टराईले भने।
अभिनेत्री सुरक्षा पन्तले फिल्म हेर्दा आनन्द आएको बताइन्। प्रिमियरमा उपस्थित अतिथि फिल्मकर्मीले निर्देशक सुब्बासँगै अभिनेता प्रविण खतिवडाको अभिनयको तारिफ पनि उत्तिकै गरेका छन्। त्यस्तै अभिनेत्री मिरूना मगर, मेनुका प्रधान र बालकलाकारको अभिनयलाई पनि प्रशंसा मिलेको छ। अभिनेता दयाहाङ राईलाई फिल्ममा आवश्यता अनुसार नै ठाउँ दिइएको प्रतिक्रिया थियो।
निर्देशम मीन भाम, निर्माता रवीन्द्र सिंह बाँनिया, कवि विप्लप प्रतिक, गायक सत्यराज आचार्य, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, अभिनेता कार्म, अभिनेत्री मलिका महत, परिक्षा लिम्बु, पोयट आइडलका निर्देशक अनम प्रताप अधिकारी लगायत पनि प्रिमियरमा पुगेका थिए।
'मनसरा' मा दयाहाङ राई, मिरूना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायत कलाकारहरूको अभिनय छ। छायांकारसमेत रहेका शैलेन्द्र ध्वज कार्की फिल्मका निर्माता हुन्।
मिश्रित समाजको कथा प्रस्तुत गर्ने यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।
तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी