अभिनेता प्रदीप खड्काले अबको डेढ वर्ष फिल्म साइन नगर्ने भएका छन्।
घोषणा भएका फिल्महरू धेरै भएकाले ती फिल्मको छायांकन नसकिँदासम्म नयाँ फिल्म साइन नगर्ने बताएका हुन्।
उनी अनुबन्धित भएका आधा दर्जन बढी फिल्मको छायांकन बाँकी छ। 'डेढ/दुई वर्षका लागि ७/८ वटा फिल्म छन्,' प्रदीपले सेतोपाटीसँग भने, 'अब क्रमशः ती फिल्मको छायांकनमा व्यस्त हुनेछ। अर्को वर्षको दसैंसम्म नयाँ फिल्म साइन नगर्ने सोचेको छु।'
उनी पछिल्लो समय फिल्म 'प्रेम गीत ३' मा देखिएका थिए। त्यसको डेढ वर्षपछि उनी 'पुजार सार्की' मार्फत पर्दामा आउन लागेका छन्। यो फिल्म जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ। यही फिल्मको प्रचारप्रसारमा रहेको प्रदीपले आफू अब वर्ष २०८२ को दसैंसम्म नयाँ फिल्म साइन नगर्ने योजनामा रहेको बताएका हुन्।
अनुबन्धित भएकामध्ये उनले सुरूआतमा फिल्म 'एक्टर' को छायांकन सक्नेछन्। केही सातापछि फ्लोरमा जाने तयारीमा रहेको यो फिल्मको छायांकनपश्चात उनी 'पिताम्बर' को सेटमा जोडिनेछन्।
त्यसपछि उनले फिल्म 'ऐरी' मा काम गर्नेछन्। फिल्म 'एक्लो' सहित सुदर्शन थापाको फिल्ममा समेत प्रदीप अनुबन्धित भइसकेका छन्। यो वर्ष उनले 'लिलीबिली २' मा पनि काम गर्न सक्नेछन्। निर्देशक रेनशा वान्तवा राईसँग पनि फिल्मका लागि कुरा भइरहेकोले सहकार्य हुन सक्ने संकेत प्रदीपले गरे।
यीमध्ये हिन्दी, नेपालीसहित दक्षिण भारतीय भाषामा समेत निर्माण हुन लागेको फिल्म 'ऐरी' आउँदो दसैं आसपासमा छायांकन हुनेछ। अर्को वर्षको दसैंमा यो फिल्म प्रदर्शनमा आउने प्रदीपले बताए। 'त्यतिबेलासम्म बाँकी सबै फिल्मको छायांकन सक्नेछु। ऐरी रिलिज नहुँदासम्म अरू फिल्म गर्दिनँ,' उनले भने, 'जसरी प्रेम गीत ३ को नतिजा हेरेर बल्ल अरू फिल्म साइन गरेको थिएँ। त्यसैगरी अब ऐरीको नतिजा हेरेर मात्रै अरू फिल्म गर्ने योजना हो।'
'ऐरी' रिलिजअघि केही महिना अभिनयबाट 'ब्रेक' लिने उनको योजना छ।