न्यूयोर्क सहरस्थित प्रकाशित लेखकहरूको एक समूह न्यूयोर्क राइटर्स वर्कसपले काठमाडौंमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा कार्यशाला गर्ने भएको छ।
ह्वाइट लोटस बुक सप ललितपुरसँगको साझेदारीमा जेठ ९ (मे २२) देखि सुरू हुने सम्मेलन तथा कार्यशाला जेठ १४ र १५ (मे २७ र २८) मा काठमाडौं गेस्ट हाउसमा हिमालयन लिटरेचर फेस्टिभलमा परिणत हुनेछ। जहाँ कार्यशालाका लेखकहरूले कार्यशालामा तयार गरेका आफ्ना साहित्यिक रचनाहरू प्रदर्शन गर्नेछन्।
३५ भन्दा बढी अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरू काठमाडौं कार्यशालाका साथै हिमालयन लिटरेचर फेस्टिभलमा सहभागी हुने फेस्टिभल निर्देशक सिर्जना भण्डारीले जानकारी दिइन्।
हिमालयन लिटरेचर फेस्टिभलको पहिलो संस्करणमा प्यानल छलफल, विभिन्न भाषाहरूमा कविता वाचन, पुस्तक विमोचन र अन्तरक्रियाहरू समावेश हुनेछन्।
हिमालयन लिटरेचर फेस्टिभलका संरक्षक एवं हिमालयन कवि युयुत्सु आरडी शर्माले काठमाडौंमा कार्यशाला तथा सम्मेलनको नयाँ संस्करणको आयोजना गर्न र वास्तविक अर्थमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव सुरु गर्नको लागि न्यूयोर्क राइटर्स वर्कसप टोलीलाई नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
न्यूयोर्क राइटर्स वर्कसपका अध्यक्ष टिम टमलिन्सन र हिमालयन लिटरेचर फेस्टिभलका निर्देशक भण्डारीका अनुसार, सो महोत्सवमा लेखकहरू लोर्डेस रोड्रिग्वेज टमलिन्सन र डा. रवि शंकर, प्रशिक्षकमा जेमी प्रोक्टर जू, कवि, निबन्धकार, अनुवादक, जुली कृष्णान–विलियम्स, अन्तर्राष्ट्रिय फोटोग्राफर, क्यालिफोर्नियास्थित ह्वाइटर कलेजका प्रोफेसर डा. टोनी बार्नस्टोनको उपस्थिति रहनेछ।
यस वर्कसप र लिटरेचर फेस्टिभलमा नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क, पोल्यान्डका कवि सन भान र डारियस लेबियोडा, पानामानियन कवि गोर्का लासा, दक्षिण अफ्रिकी कवि तथा कलाकार जाहरोज जाफ्ता, अमेरिकी कविहरू रुथ डेनन, पिटर एलेनस्पच र उनकी पत्नी दा माओ, अंग्रेजी कवि मारिया क्लेयर हीथ, ग्रीक कवि, लेखक, तथा शिक्षक भयासिलिस मनुसाकिस, हिन्दी उपन्यासकार पंकज बिष्ट, भारतीय कवि तथा विद्वान् के सच्चिदानन्दन, हङकङका लेखक तथा कलाकार नेभिल सारोनी, हङकङका फोटोग्राफर ब्रायन हाउ र संगीतकार, लेखक, परोपकारी जेन हङ, एनवाइयूअबु धाबीका लेखक तथा प्राध्यापक पाया मुस्तमाकी, अष्ट्रेलियाली लेखक लिजी प्याकर, साथै नयाँ लेखकहरू क्याथलीन बटलर, क्याथरीन केम्फ, एन गोर्डन, न्यान्सी पेरिस र मारियान साइबेरास पनि सहभागी हुनेछन्।
त्यस्तै द्वारिका श्रेष्ठ, नारायण वाग्ले, शैलेन्द्र साकार, राजकुमार बानियाँ, दीपक सापकोटा, केन सुवेदी, मनोज दाहाल, शरद प्रधान, नारायण ढकाल, श्याम रिमाल, अमर आकाश, भुवन थपलिया, विजय गुरूङ, रजनी मीला लगायत अन्य तीन दर्जनभन्दा बढी नेपाली लेखक फेस्टिभलमा जोडिनेछन् र उनीहरूमध्ये केहीले नेपाली साहित्यका विभिन्न विषयवस्तुमा प्यानलिस्टका रूपमा विमर्श गर्नेछन्।
फेस्टिभल महान् नेपाली कवि गोपालप्रसाद रिमाललाई समर्पित गरिएको छ।