विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको सर्टफिल्म 'भाउ' (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक भएको छ।
फिल्मको टिजर ऐना आर्ट्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। टिजरमा तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको कथा देखाइएको छ।
काठमाडौं र भक्तपुरमा छायांकन भएको फिल्ममा कवाडीवालाको भूमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन्। फिल्ममा उनका साथै सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन्।
नारायण जिसीले छायांकन गरेको फिल्ममा भने सहायक निर्देशन करण साउदले गरेका छन्। अंग्रेजी सब्टाइटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन्। प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन्। सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन्।
चलचित्रसम्बन्धी विभिन्न विधामा पढाइ सञ्चालन भइरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो।
'भाउ' इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो। अमेरिकाको स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौं मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो।
भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्। उनकै लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म ‘पाउलो’ र ‘द स्कुल वाल’ विभिन्न देशहरूमा छनोटमा परिसकेको छ।