प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म 'महाजात्रा' सातौं हप्तामा प्रदर्शनरत छ।
चैत ९ गते रिलिज भएको फिल्मले आउँदो शनिबार प्रदर्शनको गौरवमय ५१ औं दिन मनाउँदैछ।
यो फिल्मले राम्रो व्यापार गर्दै प्रदर्शनको लामो यात्रा तय गरेको हो। क्युएफएक्स, बिग मुभिज, एफक्युब, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जन सिनेप्लेक्स, सिके सिनेमाज लगायतका मल्टिप्लेक्स हलमा फिल्म यतिबेला प्रदर्शनरत छ। नेपालगञ्जको सिने रोयल हलमा पनि फिल्म सातौं हप्तामा लागिरहेको छ।
फिल्मले अहिलेसम्म नेपालमा १६ करोड रूपैयाँ बढी ग्रस कलेक्सन गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा फिल्मले ११ करोड रूपैयाँ हाराहारी कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्टसले जनाएको छ।
'महाजात्रा' अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म समेत बनेको निर्माण टिमको दाबी छ। यसले षट्कोण आर्टसका अघिल्ला सबै फिल्मको कमाइको रेकर्ड समेत तोडेको छ। 'टलकजंग भर्सेस टुल्के', 'जात्रा', 'जात्रै जात्रा' र 'महापुरूष' षट्कोण आर्टसले यसअघि निर्माण गरेका फिल्महरू हुन्।
'महाजात्रा' फिल्म 'जात्रा' को तेस्रो शृंखलाका रूपमा निर्माण भएको हो। यसका अघिल्ला दुवै शृंखलाले पनि ५१ औं दिन मनाउन सफल भएका थिए।
कमेडी–ड्रामा जनराको 'महाजात्रा' मा हरिवंश आचार्य, विपीन कार्की, रबिन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारहरूको अभिनय छ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल फिल्मको निर्माता हुन् भने अभिनेतासमेत रहेका रबिन्द्र सिंह बानियाँ कार्यकारी निर्माता हुन्।
षट्कोण आर्ट्सले २०८२ सालको दसैंमा नयाँ फिल्म ल्याउने घोषणा गरिसकेको छ।