नवीन सुब्बाको निर्देशन रहेको फिल्म 'गाउँ आएको बाटो' जेठ २५ गतेदेखि नेपालमा प्रदर्शनमा आउने भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो।
सार्वजनिक २ मिनेट २ सेकेन्डको टिजरमा गाउँमा बाटो नपुग्दा भोग्नुपरेको समस्या, सहरप्रतिको जिज्ञासा, सडक बनेपछि पहिलोपटक गाडी पुग्दाको खुसीलाई देखाइएको छ।
नेपालको पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबु छोराको सम्बन्धमा नव–निर्मित बाटोले ल्याएको उतार–चढावको कथामा यो फिल्म निर्माण भएको हो।
फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसन राईले मुख्य भूमिका निर्वाह गरेका छन्। दयाहाङ र पशुपति दम्पतीको रूपमा छन्। उनीहरूको छोराको भूमिका प्रसनले निर्वाह गरेका छन्।
टिजर रिलिज कार्यक्रममा निर्देशक नवीन सुब्बाले बाबु छोराको सम्बन्धको सुन्दर कथा फिल्मले प्रस्तुत गर्ने बताए। 'बाबुछोराको सुन्दर कथा हो। सजिलै बुझ्न सकिने अत्यन्तै सरल तरिकाले प्रस्तुत गरेका छौं,' उनले भने।
उनले घरेलु र अन्तर्राष्ट्रिय दर्शकलाई जोड्ने आफ्नो पहिल्यैदेखिको प्रयास रहेको बताए। जबसम्म नेपाली फिल्मले आफ्नै अनुहार बनाउन सक्दैन्, तबसम्म घरेलु फिल्म र फेस्टिभलमा जाने फिल्मले हातेमालो गर्नुपर्ने धारणा उनले राखे। 'त्यसो भयो भने मात्र हाम्रो फिल्म क्षेत्र अगाडि बढ्छ। त्यसका लागि पनि यस प्रकारका फिल्म चल्नुपर्छ,' सुब्बाले भने।
अभिनेता दयाहाङ राईले फिल्ममा गाउँमा बाटो पुगेसँगै आएको परिवर्तनको कथा रहेको बताए। 'गाउँमा बाटो आयो। बाटोसँगै थुप्रै कुराहरू आयो होला। त्यसले हाम्रो परिवारमा, समाजमा के के बोकेर आयो? र, के-के लग्यो भन्ने कथा होला,' उनले भने, 'जसरी गाउँमा बाटोसँगसँगै धेरै थोक आयो। दाई (नवीन सुब्बा)ले पनि यो फिल्ममार्फत धेरै कुरा भन्नुभएको छ। परिवारको कथा रहे पनि त्यसभित्रका अन्य लेयरमा छिर्यौं भने त्यहाँ धेरै कुराहरू देख्न, बुझ्न पाइन्छ। महशुस गर्न पाइन्छ भन्ने लाग्छ।'
उनले विश्वका धेरै महोत्सवमा पुगेर प्रशंसा पाएको फिल्मले अब स्वदेशी दर्शकको पनि माया पाउने विश्वास व्यक्त गरे। निर्माता अमोद राईले सामुदायिक लगानीको अवधारणमा फिल्म निर्माण गरिएको बताए। गायक राजेशपायल राईले फिल्म हेर्नका लागि आफू उत्साहित रहेको बताए।
संसारको प्रतिष्ठित क्यानडाको 'टोरोन्टो', दक्षिण कोरियाको 'बुसान', ब्राजिलको 'साउ पाउलो', भारतको 'मुम्बई', स्वीडेनको 'गोटेबर्ग', चीनको 'बेइजिङ' लगायत डेढ दर्जन चलचित्र महोत्सवको यात्रापछि 'गाउँ आएको बाटो' घरेलु दर्शकमाझ आउन लागेको हो।
मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्मातामा नवीन सुब्बा र अमोद राई छन्। नवीन सुब्बा र महेश राईको लेखन रहेको फिल्मलाई जोस हेरमले छायांकन, क्वान पुन लुङले सम्पादन गरेका हुन्।