भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाको कविता संग्रह ‘ऊ र म’ सार्वजनिक गरिएको छ।
भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानले उनको पहिलो कविता संग्रह मंगलबार प्रकाशन गरेको हो।
रानाले कविता संग्रहमा प्रेम, प्रकृति, युद्ध र विद्रोहका स्वरहरु र अनुभूतीहरुलाई लेखेको बताए। उनले क्याम्पस पढ्दा लेखेका, अनुभव गरेका विषयहरुलाई कवितामार्फत प्रस्तुत गरेको बताए।
ऊ र म कविता संग्रहमा ३६ वटा कविता छन्। ३१ वटा गद्य र ५ वटा गीति लयमा लेखिएका छन्।
समीक्षक केशवराज चालिसेले रानाले कवितामार्फत प्रकृति, पर्यावरण, देशप्रेम, जीवनप्रेम, राष्ट्रियता, स्वतन्त्रता, विद्रोह, अस्थित्ववादी चेतना, दर्शन प्रस्तुत गरेको बताए।
अर्का समीक्षक उदय अधिकारीले उच्च ओहोदामा रहेका सरकारी अधिकारीले पुस्तकमार्फत विद्रोह, राष्ट्रवाद, भ्रष्टाचारको विषयमा धारणा सार्वजनिक गर्नु जटिल कुरा रहेको बताए।
रानाले पुस्तकमार्फत सरकारी कर्ममा सधैं स्वच्छ रहने प्रतिबद्धता जनाएको, प्रेम सम्बन्ध र राष्ट्रप्रेमलाई प्रस्तुत गरेको उनले बताए।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाका अनुसार यो कविता संग्रह प्रतिष्ठानको दोस्रो प्रकाशन हो।