बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने उद्देश्यले रियालिटी शो 'द स्पिकिङ टाइटन' को घोषणा गरिएको छ।
मंगलबार एक कार्यक्रमबीच उक्त शोको औपचारिक घोषणा गरिएको हो। औपचारिक घोषणासँगै कार्यक्रमका लागि डिजिटल अडिसन समेत खुलाइएको छ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने 'द स्पिकिङ टाइटन' मा सहभागी हुन दामी म्युजिक एप र दामी मिडिया डटकममा आफ्नो प्रस्तुतिको भिडिओ पठाउन सक्नेछन्।
प्रतियोगिताको लागि विश्वभरबाट नेपाली भाषीले सहभागिता जनाउन सकिने बताइएको छ। प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतः स्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ। त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागि निमन्त्रणा गरिने आयोजकले जनाएको छ।
'द स्पिकिङ टाइटन' मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहनेछन्। कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन्।
दामी मिडियाको प्रस्तुति रहेको 'द स्पिकिङ टाइटन' को कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ। कार्यक्रमलाई अमन प्रताप अधिकारीले निर्देशन गर्नेछन्।
'द स्पिकिङ टाइटन' को ब्रोड्कास्टिङ पार्टनरको रूपमा टेलिभिजनतर्फ प्राइम टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ। कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिने निर्माण पक्षले जनाएको छ। कार्यक्रमको विजेताले ५ लाख नगद पुरस्कार, विश्व भ्रमण र विभिन्न ब्रान्डको एम्बेस्डर बन्ने मौका पाउनेछन्।