अभिनेता आर्यन सिग्देलले फिल्म निर्माणलाई निरन्तरता दिने बताएका छन्। फिल्म 'पुजार सार्की' को प्रचारमा व्यस्त उनले छिट्टै होम प्रोडक्सनबाट फिल्म बनाउने तयारी रहेको बताए।
उनको प्रोडक्सन हाउस 'आर्यन सिग्देल इन्टरटेन्मेन्ट' बाट यसअघि केही फिल्म निर्माण भइसकेका छन्। जसमध्ये पछिल्लो फिल्म 'कायरा' हो।
'अर्को वर्षसम्म आफ्नै फिल्म पनि गरौं भन्ने छ। राम्रो स्क्रिप्ट आयो भने भन्नु है भनेर कतिपयलाई भनिरहेको हुन्थे,' आर्यनले सेतोपाटीसँग भने, 'एउटा आइडिया राम्रो लागेको छ। त्यसमा वर्कआउट गर्दैछु। त्यसले एउटा ढाँचा लियो भने फ्लोरमा जाने योजना छ।'
आर्यनको कामको कुरा गर्दा उनको फिल्म 'पुजार सार्की' जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ।
दिनेश राउतको निर्देशनमा बनेको यो फिल्ममा आर्यनसहित प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा छन्। जातीय विभेदविरूद्द तीन पात्रले गर्ने साझा संघर्षको कथामा बनेको फिल्मलाई लिएर आर्यन उत्साहित छन्।
यसपछि उनले फिल्म 'गाउँ नै रमाइलो' मा काम गर्नेछन्। यो फिल्मलाई पनि दिनेश राउतले निर्देशन गर्न लागेका छन्।
अभिनयसंगै फिल्म निर्माणलाई निरन्तरता दिए पनि निर्देशनमा आउने सोच भने तत्काल नरहेको आर्यनले बताए।