नेपाली सिरियलका लोकप्रिय कलाकार जोडी आशा खड्का र सागर गौतमले छोरीलाई पनि सिरियलमा प्रस्तुत गरेका छन्।
गत मंसिरमा आमाबुबा बनेका उनीहरूले 'कान्छी' सिरियलमार्फत छोरी साहारालाई दर्शकसमक्ष प्रस्तुत गरेका हुन्। आशा र सागरले यसअघि छोरीको तस्बिर सार्वजनिक गरेका थिएनन्। 'कान्छी' को शनिबारको एपिसोडमा छोरीलाई पनि दर्शकले देख्न सक्छन्।
उक्त एपिसोड आउनुअघि शनिबार बेलुका आशाले श्रीमान र छोरीसहितको फेसबुकमा तस्बिर राख्दै लेखेकी छन् – 'ईश्वरले हाम्रो जीवनमा दिनुभएको सबैभन्दा अमूल्य उपहार हाम्री छोरी साहारा, जसलाई हामीले आजको कान्छी एपिसोड २०२ देखि यहाँहरू समक्ष ल्याएका छौं। हजुरहरूले हाम्री छोरीलाई आजको एपिसोड हेरेर धेरै माया र आशीर्वाद दिनुहोला।'
सिरियलको कथासँग मिलाउनका लागि आशा र सागरले छोरी जन्मिएको कुरा ढिलो गरेर सार्वजनिक गरेका हुन्। यसअघि सिरियलमा आशा गर्भवती भएको देखाइएको थियो। सिरियलको कथा अगाडि बढ्दै जाँदा उनीहरूले छोरीलाई सिरियलमै देखाएका हुन्। 'दर्शकलाई कथा पुरानो नलागोस् भनेर नै बेबी जन्मिएको कुरा अगाडि सार्वजनिक नगरेका हौं,' आशाले भनिन्।
आशाले छोरीलाई जन्म दिनुअघि सिरियलको केही एपिसोड स्टक खिचेकी थिइन्। शनिबारको एपिसोड खिच्दै उनी निर्देशन एवं अभिनयमा फर्किएकी छन्।
उनको निर्माण, निर्देशन एवं शीर्ष अभिनय रहँदै आएको 'कान्छी' सहित 'भुन्टी' नेपालमा सबैभन्दा धेरै हेरिने सिरियलमा पर्छन्। आशाका श्रीमान सागर पनि 'कान्छी' सिरियलका मुख्य कलाकार हुन्।
सिरियलमै काम गर्ने क्रममा नजिक भएका उनीहरूले केही समयको प्रेमपछि तीन वर्षअघि विवाह गरेका थिए। विवाहको खबर पनि उनीहरूले ढिलो सार्वजनिक गरेका थिए।